इलाम ः इलामको पुर्वी क्षेत्र समालबुुङका वासिन्दाले आफ्नै घरमा धारा जोडेर पानी उपभोग गर्ने सपनामा नै सिमित भएको छ । ६० लाख खर्च गरेर बनाउन सुरु गरिएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १ सय ७० घरधुरीमा यतिबेला खानेपानीको चर्को समस्या भोग्दै आएका छन ।
विसं २०६४ बाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनाको सेवा प्रदायक संस्थाले अलपत्र अवस्थामा छाडेपछि समालबुङबासीको सपना तुहिएको हो । फण्डबोर्ड मार्फत राजधानीको छिमेक सेवा संस्थाले निर्माण सुरू गरेको आयोजनामा उपभोक्ताबाट प्रति घर १ हजार २ सय र समालवुङ गाविसको रु ५० हजार सहयोग रहेको थियो । खानेपानीको लागि प्रत्येक घरबाट महिना दिनसम्म श्रम दिएको योजनामा कम गुणस्तरका सामान प्रयोग भएकाले पानी सञ्चालन नगरी छिमेक सेवा संस्थाका प्रतिनिधि गायब भएको स्थानियको आरोप छ । निर्माण समितिका अध्यक्ष फूर्वा घिसिङले भन्छन ‘पाइपलाइन विस्तार भएपनि प्राविधिक त्रुटिका कारण योजना सञ्चालन नभएपछि बनाइएका संरचना अलपत्र अवस्थामा छाडेर प्राविधिक भागेको छ ।’
योजना अलपत्र परेपछि मुल सडक खन्दा डोजरले पाइपलाइन नै क्षतविक्षत बनाइदिनुका साथै अन्य निर्माण सामग्री चोरी भएको सचिव कृष्ण तामाङले बताए । उनले भने ‘आयोजनाले ३४ वटा धारा निर्माण गर्नुपर्नेमा १४ वटा मात्र निर्माण भएका छन । पानी जम्मा गर्ने तीन वटा टयाङकी बनाउनुपर्नेमा २ वटा मात्र निर्माण सम्पन्न भइ अलपत्र अवस्थामा छन् ।’

करिब सात किलोमिटर टाढाको मुहानबाट खानेपानी ल्याउन काम थालिए पनि आयोजना अधुरै अवस्थामा छ । आयोजना सम्पन्न नहुँदा साविक समालबुङका २, ३ र ४ नं वडाका बासिन्दालाई खानेपानीको समस्या भएको छ । यहाँको शान्तिबजार, गैरीगाउँलगायत क्षेत्रमा सुक्खायाममा खानेपानीको अभाव हुने गरेको छ । आयोजनामा फलामको पाइप लगाउनुपर्ने स्थानमा प्लास्टिकको पाइप लगाइएको र सर्भे गलत स्थानबाट भएपछि आयोजना सञ्चालन हुन नसकेको हो । आयोजनाका बारेमा पटक पटक सम्वन्धित संस्थालाई जानकारी गराउँदा समेत बेवास्ता गरेको उपभोक्त समिति अध्यक्ष घिसिङ वताउँछन् ।
उता फनबोर्डले भने छिमेक सेवा संस्थाले समयमा काम सम्पन्न नगरी फरार भएका कारण समस्या भएको वताएको छ । सो खानेपानी निर्माण गर्दा रहेको फनबोर्डको ब्यवस्थापन समेत परिवर्तन भएकोले समस्या भइरहेको फनवोर्डका भरत अधिकारीले बताए । छिमेक संस्थालाई फनबोर्डले कारवाहि समेत गरेको जनाउँदै अधिकारीले अव सो आयोजनालाई पुुर्ननिर्माण गरी धारामा पानी आउने ब्यवस्था मिलाउने वताए । भूकम्प पछि पुुर्ननिर्माणमा सो संस्था लागि परेको बताउँदै उनले यस विषयमा छलफल गरिने चाडै नै समालबुङबासीको सपना साकार गर्ने बताए ।