Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा मनाइयो गाइजात्रा पर्व (तस्वीरहरु)

इलाममा मनाइयो गाइजात्रा पर्व (तस्वीरहरु)

  • सुजन तिमल्सिना
  • बिहिबार, भाद्र १४ २०८०


इलाममा मनाइयो गाइजात्रा पर्व (तस्वीरहरु)
इलाम । दिवङ्गत भएका आफन्तको सम्झना तथा मन शान्तिका लागि इलाममा गाइजात्रा पर्व मनाइएको छ । पुरुषलाई महिलाको पहिरन लगाइदिएर गाईका रूपमा श्रृङ्गार गरी नगर परिक्रमा गराउने परम्परागत प्रचलन अनुरुप इलाममा गाइजात्रा मनाइएको हो ।
माइस्थान मन्दिरबाट निकालिएको जात्रा नगर परिक्रमा गराई नारायणस्थान मन्दिरमा लगेर समापन गरिने प्रचलन रहेको छ । इलाम नगरक्षेत्रका यस वर्षभित्र मृत्यु भएका घर परिवारबाट जात्रा निकालिएको थियो । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजना रहेको जात्रामा नेवार समुदायका परिवारहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
इलामका मुख्य जात्राहरु लाखेजात्रा, गाइजात्रा र रोपाइजात्रा हुँदै आएका     छन् । हिन्दूधर्म अनुसार गाइजात्रा पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरेको पाइन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाइजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ ।
गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । काठमाडौँ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाइजात्रा’ आज भाद्र कृष्ण प्रतिपदादेखि आठदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ ।
आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाइजात्राका सहभागीलाई ‘श्रद्धालु’हरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाइजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा पनि जारी छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।
जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् । भक्तपुरमा गाइजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन रहिआएको छ ।
गाइजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने गरिन्छ । गाइजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार