फिक्कल । इलाममा पछिल्लो समय डेङ्गु संक्रमण बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय इलाम अनुसार हालसम्म २२१ जनामा संक्रमण देखिएको हो । सवैभन्दा बढि सूर्योदय नगरपालिकामा १५८ जना रहेका छन् ।
इलाम नगरपालिकामा ३३ जना, देउमाई नगरपालिकामा ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोलर बिमल बरालले बताए । झापासंग सिमाना जोडिएको चुलाचुली गाउँपालिकामा १६ जनामा संक्रमण देखिएको छ ।
माई नगरपालिका, रोङ गाउँपालिका र माईजोगमाई गाउँपालिकामा ३/३ जना संक्रमित देखिएको बरालले बताए । फाकफोकथुम, माङ्सेबुङ र सन्दकपुर गाउँपालिकामा डेंगु रोगी हालसम्म फेला परेका छैनन् ।
इलाममा डेङ्गुका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । इलाममा बेड अपुग भएपछि भुइँमै राखेर उपचार गरिदै आएको छ । पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि ‘बेड’ अभाव हुँदा भुइँमै राखेर उपचार गर्न थालिएको हो ।