अन्तु । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य इलामको अन्तुडाँडा पुग्ने पर्यटक घोढचढीमा रमाउन थालेका छन् । सवारीसाधनको सुविधा नहुँदा यात्राको साधन बनेको घोडा अहिले अन्तुमा पर्यटक तान्ने माध्यम बनेको छ । भोजपूरबाट अन्तु घुम्न पुगेका शैलेन्द्र भुजेलले घोडचढीको मज्जा दिए । गाडिको सुविधा नहुँदा यात्राको साधनको रुपमा रहेको घोडा चढेर अन्तु डाँडा पुग्दाको यात्रा स्मरणिय भयो ।
चियाबारीमा रहेको अन्तु पोखरीदेखि अन्तु डाँडासम्मको यात्रा आनन्ददायी भएको उनी सुनाउँछन् । पर्यटन पर्वद्धनका लागि अन्तुमा घोडचढीको सुविधा छ । घोडामा चढेर जंगलको बिचमा यात्रा गर्दा छुट्टै आनन्द भएको इलामका बिजय राईको अनुभुति छ । पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने गरि शुरु भएको घोडचढीको सुविधाले अन्तुको पर्यटक आवागमनमा वृद्धि हुने उनी बताउँछन् ।
भोजपुरका सैलेन्द्र र इलामका बिजय मात्रै हैन अहिले अन्तुमा घोडचढीमा रमाउनेको संख्या बढ्दै गएको छ । तराईको गर्मी छल्न इलामको अन्तु पुगेका पर्यटकहरुले घोडामा चढेर आनन्द लिने गरेका छन् ।
हरियाली चियाबारी, प्राकृतिक सुन्दरता, भारतीय सहरको दृश्यावलोकन र सूर्योदयको दृश्यमा रमाउन पर्यटक अन्तु पुग्ने गरेका छन् । पर्यटकको सुविधाका लागि अहिले १० वटा घोडाहरु राखिएको छ । घोडाहरुमा चढेर अन्तुपोखरीबाट अन्तुडाँडा पुगेको ८ सय रुपैयाँ र अन्तुडाँडा घुमेको ६ रुपैयाँ घोडा व्यवसायीले लिने गरेका छन् । सूर्योदय नगरपालिका ४ र ५ मा अवस्थित पर्यटकीय क्षेत्र अन्तु पुग्न सुर्योदय नगरपालिकाको फिक्कल छिपिटारबाट ११ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।