इलाम । एक सातादेखिको वर्षातपछि इलामका ग्रामिण क्षेत्रमा अहिले धान रोपाई अन्तिम चरणमा पुगेको छ । किसानलाई अहिले धान रोपण धमाधम छ । बैशाख र जेठमा भएको खडेरीका कारण समयमा धानको ब्याड राख्न नसकेका किसानले ढिलो गरि किसानले धान रोपाई गर्दै आएका हुन् ।
पश्चिमि इलामका पालिका भित्रका किसानले अहिले धानखेतीको मैजारो गर्दैछन् । पछिल्लो सातामा लगातार परेको वर्षातपछि किसानले अहिले सिचाँई सुविधा नपुगेका खेतमा पनि किसानले रोपाई गर्दै आएका हुन् ।
सिचाई सुविधा भएका खेतमा साउनको पहिलो साता नै किसानले धान रोपण गरेका थिए । आकाशे पानीको भरमा हुने खेती हुने क्षेत्रमा किसानले ढिलो मात्रै खेती गरेका हुन् । उत्तरी सन्दकपुर गाउँपालिकामा ६० हेक्टर क्षेत्रफलमा धान खेती भइसकेको छ । पछिल्लो दिनको वर्षातले सिचाई सुविधा नभएका क्षेत्रहरुमा पनि पानी पर्याप्त भएकाले धान खेती भइरहेको सन्दकपुर २ का वडाध्यक्ष सनम राईले बताए ।
इलामको माई नगरपालिका, चुलाचुली गाउँपालिका भित्रको खेती योग्य जमिनमध्ये ८० प्रतिशत खेतमा धान खेती हुँदै आएको छ । चुलाचुली र माई नगरपालिका बाहेकका ८ स्थानीय तहको बेंसि र कछाड क्षेत्रमा धान खेती हुने गरेको हो । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार धान खेती हुने जग्गामध्ये ९० प्रतिशत क्षेत्रफलमा धान रोपण भएको छ ।
बैशाख र जेठमा पानी नपरेका कारण खडेरी लाग्दा किसानले ढिलो गरि धानको ब्याड राखेकाले रोपाइ पनि ढिलो भएको हो । तर पछिल्लो वर्षातले गर्दा किसानले अहिले धमाधम धान रोपाइ गरिररहेको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले बताए ।
यस वर्ष इलाममा १२ हजार १ सय ४८ हेक्टर क्षेत्रफलमा धान खेती सकिएको छ । धानको उत्पादन प्रतिहेक्टर ३ दशमलव ३१ मेट्रिक टन रहेको हो । इलाममा बार्षिक ४९ हजार मेट्रिक टन धान उत्पादन हुने इलाममा १४ हजार ८ सय १५ मेट्रिक टन धान खेती हुने क्षेत्र रहेको छ ।