Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पशुपतिनगरमा भारतीय रुपैया सटहीका लागि काउन्टर संचालन हुने

पशुपतिनगरमा भारतीय रुपैया सटहीका लागि काउन्टर संचालन हुने

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ६ २०८०


पशुपतिनगरमा भारतीय रुपैया सटहीका लागि काउन्टर संचालन हुने

फिक्कल । भारतीय रुपैया सटहीका लागि इलामको पशुपतिनगरमा सटही काउन्टर खोल्न अनुमति प्राप्त भएको छ । आइतबार पशुपतिनगरमा सटही काउन्टर राख्न गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका हुन् ।

गभर्नर अधिकारीले भारतीय पचास र एक सय रुपैयाका साना नोट साटेर नेपाली बनाउन निर्देशन दिएको बताइएको छ । सोही अनुसार पशुपतिनगरमा राष्ट्रिय वाणिज्य बैंकले सटही काउन्टरको लागि प्रक्रिया शुरु गरेको छ ।

वाणिज्य बैंकको विभागबाट भारतीय रुपियाँ सटही गर्न निर्देशन सहितको पत्र नै आएपछि बैंकले प्रक्रिया थालेको हो । सटही काउन्टर शुरु गर्न केही विधि र नियमहरु रहेकाले अबको एक सातामा प्रक्रिया पुरा गरेर सटही शुरु गरिने पशुपतिनगर स्थित राष्ट्रिय वाणिज्य बैंकका प्रमुख राजन चम्लागाईंले बताए ।

‘ सटही थाल्न आज पत्र आएको छ । हामीले प्रक्रिया पनि थाल्यौं, तर अझै कतिको कारोबार हुने, यहाँको भारतीय रुपियाँको अवस्था र स्थानीयको आवश्यकता सबै कुरा बुझेर त्यसको अवस्था विश्लेशण गरिन्छ ।’ चम्लागाईंले भने ‘माथिबाट पनि यहाँको अवस्था अनुसार थप कार्यनीतिहरु आउँछन् अनि करिब सातादिन भित्र सटही शुरु गर्नेछौं ।’

पशुपतिनगरमा वर्षौं देखि भारतीय रुपैया सटही बन्द हुँदा पूर्वी सीमावर्ती क्षेत्रका सर्वसाधारणले नेपाली रुपैयाको अभाव झेल्दै आएका थिए । यो क्षेत्रमा उत्पादित कृषि उपज, दुग्ध जन्य पदार्थ बिक्री गर्नुपर्दा व्यापारीबाट किसानहरुले भारतीय रुपैया नै लिनुपर्ने बाध्यता थियो ।

सूर्योदय नगर उद्योग वाणिज्य संघले गत भदौ ४ गते राष्ट्र बैंकलाई सटही काउन्टर स्थापनाका लागि  पत्रचार गरेको थियो । उद्योग वाणिज्य संघका सचिव सुजन तिमसिनाले राष्ट्र बैंक सहायक प्रवक्ता डिल्लीराम पोखरेलसंग भारतीय सटहीको समस्याको बारेमा कुरा गरेका थिए ।

पशुपतिनगरमा सटही काउन्टर स्थापना भएपछि सिमावर्ति पशुपतिनगर सहित दुवै देशको व्यवसायिक क्षेत्रमा सहजता आउने वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । उनले भारतीय नोट सटही काउन्टर नहुँदा समस्या भोग्दै आएका ग्राहक र व्यपारीहरुलाई सहजता हुने बताए ।

त्यसैगरी भारतीय नोट सटहीकै बारेमा सूर्योदय नगर प्रमुख रणबहादुर राईले समेत गर्भनर संग भेटेर छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार