Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको उच्च पहाडमा संरक्षणका कार्यक्रमले वन क्षेत्र बढ्दै (तस्बिरहरु)

इलामको उच्च पहाडमा संरक्षणका कार्यक्रमले वन क्षेत्र बढ्दै (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • सोमबार, साउन २९ २०८०


इलामको उच्च पहाडमा संरक्षणका कार्यक्रमले वन क्षेत्र बढ्दै (तस्बिरहरु)

इलाम । इलामको उच्च पहाडी क्षेत्रका उजाड डाँडाहरु अहिले हराबरा भएका छन् । सरकारी र गैरसरकारी संस्थाहरुले वन संरक्षणका कार्यक्रम गरेपछि पछिल्लो ५ वर्षमा उच्च पहाडी क्षेत्रका खुल्ला डाँडाहरुमा रुखविरुवा हुर्किएर हराभरा भएको हो । माईजोगमाई गाउँपालिका २ को आहाल क्षेत्र अहिले हराभरा छ । १० वर्ष अघि उजाड देखिने आहाल क्षेत्रमा अहिले रुखविरुवा हुर्किएर हराभरा भएको हो ।


सन्दकपुर गाउँपालिका ५ को जौबारी क्षेत्रमा अहिले घना जंगलको विकास भइरहेको माईजोगमाई गाउँपालिकाका संजिव थामिले बताए । उच्च पहाडी जडिबुटी उत्पादक तथा संरक्षण संस्था र डिभिजन वन कार्यालयले वन संरक्षणको काम गरेपछि अहिले घना जंगलको रुपमा जौबारी क्षेत्रको आसपासमा हराभरा भएको सन्दकपुर ५ का सदस्य कुमार गुरुङले बताए ।


सन्दकपुर २ को धुपि क्षेत्रमा पनि अहिले जंगल विस्तार हुने क्रम बढेको छ । जंगल बढेपछि उच्च पहाडी क्षेत्रमा पदयात्रा गर्ने पदयात्रीहरुपनि खुशि हुने गरेको वडाअध्यक्ष सनम राईले बताए । लोपउन्मुख वन्यजन्तुको बसोबास रहेको इलामका उच्च पहाडी क्षेत्रमा जंगल फडानी रोक्न १५ वर्ष अघिबाट संरक्षणका काम हुँदै आएको थियो ।


स्थानीयबासीमा आएको चेतना वृद्धि, खुल्ला चरिचरनमार्फत हुँदै आएको पशुपालनको स्तरउन्नती र दाउराको प्रयोग कम हुँदै गएपछि अहिले जंगलको क्षेत्रफल बढ्दै गएको हो । सन्दकपुर गाउँपालिकाले उच्च पहाडी क्षेत्रका उजाड डाँडामा वृक्षारोपणको काम गर्दै आएको छ । उच्च पहाडी जडिबुटी उत्पादन तथा संरक्षण संस्थाले उजाड डाँडामा प्लाष्टिक पोखरी बनाइ वृक्षारोपणको काम गर्दै आएको हो । लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै वनको क्षेत्रफल वृद्धिका लागि वृक्षारोपण गर्दै आएको संस्थाका धन बहादूर खाम्दाकले बताए ।


इलामको उच्च पहाडी क्षेत्रमा लोपउन्मुख वन्यजन्तु र चराहरुको बासस्थानका कारण देश विदेशका पर्यटकहरुको पनि आकर्षण बढ्दो छ । जसका कारण सामुदायीक वन, गैरसरकारी संस्था र डिभिजन वन कार्यालयले वन क्षेत्रको वृद्धिका लागि संरक्षणका काम गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार