इलाम । राष्ट्रिय खेलकुद परिषदले ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको १० महिनापछि खर्च विवरण सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको पोखरामा गत असोज २८ गते देखि कात्तिक ३ गतेसम्म आयोजना भएको प्रतियोगिताको खर्च विवरण राखेपले आज (बुधबार) सार्वजनिक गरेको हो ।
प्रतियोगिता सम्पन्न गर्न राखेपले विभिन्न शिर्षकमा ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ खर्च भएको जनाएको छ । साथै प्रतियोगितामा विनियोजन गरिएको बजेटबाट ६ करोड ८२ लाख ४८ हजार ४६० रुपैया ९२ पैसा वचत भएको राखेपद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सरकारकै खातामा फिर्ता पठाएको राखेपले जानकारी दिएको छ । सदस्य सचिव टंकलाल घिसिङले निर्वाचन र विनियोजित बजेट रोक्का हुनु लगायत विषयका कारण समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको जनाए । उनले प्रतियोगितामा स्वर्ण पदक प्राप्त ८४० खेलाडीहरुले पाउनुपर्ने रकम गत बैशाखमा नै भुक्तानी गरिएको जनाए ।
पदकको हिसाबले ३९७ स्वर्ण पदक भएपनि टिममा भएको खेलमा कुल ८४० खेलाडीको स्वर्ण पदकको रकम पठाइएको उनले जानकारी दिए । उनले बैंक मर्जर भएपछि खेलाडीहरुको खाता यकिन गर्न समय लागेका पुरस्कार रकम दिन बैशाखसम्म लागेको बताए । यसपटक रकम सिधै खेलाडीको खातामा जम्मा गरिएको उनले बताए ।
घिसिङले अहिले राखेपले १९ औं एसियन गेम्सको तयारी अघि बढाएको बताउँदै कर्णालीमा हुने दशौ राष्ट्रिय खेलकुदको मोडालिटीको बारेमा छलफल गरेर अघि बढ्ने बताए । उनले नवौं राष्ट्रियको जस्तो हतारमा मोडालिटी सार्वजनिक नगर्ने बताए । दशौ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले आफ्नै पहलमा २ वटा कभर्ड हल निर्माण गरेको बताए ।
घिसिङले एसियाली खेलका लागि ३० प्रतिशत खेलाडी विदेशमा प्रशिक्षणमा रहेकाले नेपाल ६ वटा मेडलको नजिकै रहेको समेत बताए । पाकिस्तानमा हुने १४ औ साग गेम्सको तयारी बारेमा उनले पाकिस्तानको आन्तरिक समस्याका कारण निर्धारित समयमा प्रतियोगिता हुने सम्भावना कम रहेकाले मिती तय भएपछि राखेपले तयारी थाल्ने बताए ।