इलाम । इलाम र पाँचथरको सीमाना राँकेदेखि पाँचथरको दक्षिणी व्यापारिक तथा प्रशासनिक केन्द्र रवी हुँदै झापाको दमक जोड्ने सडक (फाल्गुनन्द मार्ग) बार्है महिना यातायात सञ्चालन हुने भएको छ । रवीदेखि झापाको दमक सम्म जाडिने उक्त सडक दुई दशकअघिदेखि निर्माणाधीन ४४ किलोमिटरको सबै काम सम्पन्न भएपछि यातायात सञ्चालन हुने भएको हो ।
आइतवारदेखि साना सवारी साधनहरु नियमित यातायात सञ्चालनको अनुमति दिइएको र एक हप्तापछि ठूला सवारी सञ्चालनको अनुमति दिइने उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले बताए ।
रवी दमक सडक खण्डमा यसअघिबाटै यातायात सञ्चालन भइरहेपनि रतुवा खोलाको बगरहँुदै निर्माण गरिएको बाटोमा बर्खामा खोलाको पानीले गर्दा बाटो अवरुद्ध हुदैँ आएको थियो । रतुवा बगरको विकल्पमा १५ किलोमिटर वैकल्पिक सडकको निमार्ण गरिएको अध्यक्ष पुरीले वताए ।
यस अघिनै सडक सञ्जाल जोडिएपनि हिउँदमा मात्र सवारी साधण सञ्चालन हुदैँ आएको थियो । बर्खामा सवारी आवत जावत बन्द हुँदा त्यस क्षेत्रका वासिन्दाहरु दमकसम्मको यात्राको लागि राँके, इलाम, विर्तामोड घुम्दै १७८ किलोमिटरको दूरी पार गर्दै यात्रा गर्नुपर्दथ्यो ।
रवी–दमक सिधा बाटो ७३ किलोमिटर रहेको छ । सडकखण्डमा बाह्रैमास सवारी सञ्चालन हुने भएपछि पाँचथरको फाल्गुनन्द, मिक्लाजुङ, तुम्वेवा गाउपालिका सँगै इलाम जिल्लाका फाकफोकथुम गाँउपालिकाका उपभोक्ताहरुलाई आजतजावतमा सहज हुने साथै त्यहाँ उत्पादन हुने कृषि उपजहरु तराईसम्म निर्यात गर्न सहज हुने पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं १ का वडाध्यक्ष विष्णुकुमार राईले बताए ।
रवीदेखि दमकसम्मको सडक कालोपत्रेको लागि भौतिक योजना तथा विकास मन्त्रालयबाट २ अर्व २५ करोड वजेट समेत विनियोजन भइसकेकाले अब चाडैँ कालोपत्रेको कामपनि सुरु हुने अध्यक्ष पुरीले बताए ।