इलाम । युरोपेली क्लब फुटबल सिजन २०२२–२३ लगभग सकिएको छ । आगामी सिजन २०२३–२४ को लागि क्लबहरुले तयारी समेत अघि बढाएका छन् । अधिकाँश टोलीले आगामी सिजनमा परिवर्तन र सुधार खोजिरहेका छन् । वर्तमान परिप्रेक्षमा एसियाली राष्ट्र साउदी अरेबियाले आक्रमक रुपमा युरोपेली स्टार खेलाडीलाई मध्यपुर्वमा भित्र्याइरहेको छ ।
अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भित्र्याउन असफल भएपनि स्टार खेलाडी अनुबन्धनको क्रममा साउदी प्रो लिग (एसपीएल) शिर्ष स्थानमा छ । अल–नासरमा क्रिस्टियानो रोनाल्डोको स्थानान्तरणपछि अन्य युरोपेली खेलाडीहरुलाई समेत मध्यपुर्व एसिया प्रवेशको ढोका खुल्ला भएको हो । क्लबहरुले प्रस्ताव गरेको तलब र सुविधाहरुलाई इन्कार गर्न खेलाडीहरुलाई असहज भइरहेको छ ।
खर्च गर्न पाउने रकम र आर्थिक नियममा प्रतिबन्ध नभएको कारण साउदी प्रो क्लबले खेलाडीहरूलाई उनीहरूको अघिल्लो क्लबहरूमा पाउने भन्दा ज्यादा तलब र भत्ता प्रस्ताव गरिरहेका छन् । यी क्लबहरूले किन यति धेरै खर्च गरिरहेका छन् ? तिनीहरूको दृष्टिकोण के हुन सक्छ ?
क्रिस्टियानो रोनाल्डोको अनुबन्ध साउदी प्रो लिगमा अहिलेसम्मको सबैभन्दा ठूलो क्षण हो । विशेष गरी युरोपका धेरै टोलीहरूले पोर्चुगिज अन्तर्राष्ट्रियलाई क्लबमा सामेल गर्ने प्रयास गरिरहेका थिए । यद्यपि, रोनाल्डोले मध्य पूर्व जाने निर्णय गरे र अहिले साउदी अरबमा आफ्नो फुटबलको आनन्द लिइरहेका छन् ।
भर्खरै, न्यूक्यासल युनाइटेडको स्वामित्व लिएको पब्लिक इन्भेष्टमेन्ट फण्ड (पिएफए) ले साउदी प्रो लिगमा ठूलो लगानी ग¥यो । अहिले अल–इत्तिहाद, अल–अहली, अल–नासर र अल–हिलालमा ७५ प्रतिशत उसको नियन्त्रण छ ।
फुटबलमा साउदी अरेबियाको लक्ष्य
रिपोर्टहरूका अनुसार, साउदी अरेबियाले फुटबल लिगबाट राजस्व बढाउने र यसलाई विश्वको शीर्ष १० लिगहरूमा लैजाने लक्ष्य राखेको छ । साउदी क्लबहरू खर्चमा कुनै नियममा बाँधिएका छैनन् । यसको मतलब उनीहरूले उच्च तलब प्रस्ताव गर्न सक्छन् जसले खेलाडीहरूलाई मध्यपुर्वमा आकर्षित गर्न सक्छ ।
साउदी युवराज मोहम्मद बिन सलेमले एक निजीकरण योजना सुरु गरेको छ जुन मुख्यतया फुटबल क्लबहरूमा केन्द्रित छ । उनीहरुले लिगबाट उत्पन्न राजस्व बढाउने योजना बनाएका छन् । सन् २०३० सम्म, राजस्व १२० मिलियन बाट ४८० मिलियनमा पु¥याउने साउदी अरबको लक्ष्य रहेको छ । उनीहरुले बजार मूल्य २.१ बिलियन भन्दा बढी हुने अपेक्षा गरेको छ ।
साउदी अरेबियाले पनि फिफा विश्वकप २०३० को आयोजना गर्ने दाबी गरेको छ । कतारले सन् २०२२ को संस्करणको आयोजना गरेपछि साउदीले पनि इतिहासको किताबमा विश्वकप आयोजनाको नाम लेखाउन चाहन्छ । लिगले शीर्ष खेलाडीहरूलाई आकर्षित गर्दै मध्य पूर्व राष्ट्र फुटबलमा द्रुत गतिमा बढिरहेको देखिन्छ ।
साउदी युवराज मोहम्मद बिन सलमानले खेलकुदलाई देशको अन्तरराष्ट्रिय राजनीतिक र आर्थिक स्थिति परिवर्तन गर्न आफ्नो समग्र रणनीतिको महत्वपूर्ण भागको रूपमा हेरेका छन् । सन् २०३० को फिफा विश्वकप आयोजना गर्ने मौका कुन राष्ट्रले पाउँछ त्यो हेर्न चाखलाग्दो हुनेछ । साउदी अरेबिया र साउदी प्रो लिग यतिबेला चर्चामा छन् । उनीहरूले आफ्नो देशमा फुटबलको विकास गर्न र विश्वका उत्कृष्ट लिगहरू मध्ये एक बन्न खोजेका छन् ।
बेन्जेमा देखि महरेजसम्म
फ्रान्सेली स्टार करिम बेन्जेमाले आफ्नो पूर्व सहकर्मीलाई पछ्याएर भर्खरै साउदी लिगमा सामेल भए । फ्रान्सेलीलाई साउदी प्रो लिगले प्रस्ताव गरेको रकम स्विकार गर्न समय लागेन् । बेन्जामसंगै एन्गोलो कान्टे अर्को ठूलो नाम हो जो साउदी अरब जाँदैछन् । म्यानचेस्टर सिटीमा ट्रेबल जितेका अल्जेरियन रियाद महरेज सहित अन्य धेरै प्रभावशाली खेलाडीहरुको रोजाई नै मध्य पुर्व भएको छ ।
करिम बेन्जेमा : रियल म्याड्रिडदेखि अल–इत्तिहाद
स्पेनिस क्लबको दोश्रो सर्वाधिक गोलकर्ता एवम असिस्टमा शिर्ष स्थानमा रहेका ३५ बर्षिय बेन्जेमा फ्रि ट्रान्सफर मार्फत रियल म्याड्रिड छोडे । ५ पटकको युइएफए च्याम्पियन्स लिग बिजेता र वर्तमान बालोन डि ओर होल्डरले सन् २०२५ सम्म रहने गरी अल इत्तिहादमा सम्झौता गरे । १४ बर्ष स्पेनिस क्लबसंग विताएका फ्रान्सेली स्टारले २५ वटा ट्रफी दिलाएपछि यात्रा मध्यपुर्व मोडिएको हो । वर्तमान साउदी प्रो लिग च्याम्पियनसंग प्रति हप्ता ३.३ मिलियन डलर पाउनेछन् ।
एङ्गोलो कान्टे : चेल्सीदेखि अल–इत्तिहाद
फ्रान्सेली स्टार कान्टे जेद्दामा आफ्नै देशका बेन्जेमासंग देखिनेछन् । उनले तीन वर्षको लागि चेल्सीबाट फ्रि टान्सफर मार्फत अल इत्तिहादमा सामेल भएका हुन् । कान्टेले प्रति वर्ष १०८.९ मिलियन कमाउनेछन् । चेल्सीसँगको सात सिजनको कार्यकालमा ३२ वर्षिय डिफेन्सिभ मिडफिल्डरले प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै उपाधि जितेका थिए ।
एडवर्ड मेन्डी : चेल्सी देखि अल–अहली
सेनेगाली गोलकिपर स्ट्यामफोर्ड ब्रिजमा तीन सिजन पछि तीन वर्षको सम्झौतामा जेद्दा जानेछन् । बेलायती मिडियाका अनुसार साउदी क्लबले ३१ वर्षका युवाका लागि २०.२४ मिलियन डलर तिर्नेछ । स्ट्यामफोर्ड ब्रिजमा ३ बर्ष रहँदा मेन्डीले च्याम्पियन्स लिग, सुपर कप, फिफा क्लब विश्वकप जितेका छन् ।
रोबर्टो फर्मिनो : लिभरपुलदेखि अल–अहली
३१ वर्षीय ब्राजिलियन फरवार्ड लिभरपुलसँग आठ उत्कृष्ट सिजनहरू पछि फ्रि ट्रान्सफरमा अल अहलीमा सामेल भएका छन् । स्टेनले पार्कसंग रहँदा उनले २०१९ मा च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप तथा २०२० मा प्रिमियर लिग जितेका थिए । उनी ८२ गोल गर्दै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने ब्राजिलियन खेलाडी समेत हुन् । उनीसंग चिरप्रतिद्धन्द्धी चेल्सीका गोलरक्षक मेन्डी रहनेछन् ।
जोटा : सेल्टिक देखि अल–इत्तिहाद
पोर्चुगलका २४ वर्षिय विङ्गर दुई सिजनमा स्कटिस जाइन्ट्सका लागि उत्कृष्ट खेलाडी बनेका छन् । रियल भालाडोलिड र बेनिफिका पुर्व स्टारले अल इत्तिहादसंग ३ बर्ष सम्झौता गरेका छन् । उनको स्थानान्तरण शुल्क ३१.७७ मिलियन डलर रहेको स्कटिस मिडियाले जनाएका छन् ।
रुबेन नेभ्स : वोल्भरह्याम्प्टन वान्डरर्स देखि अल–हिलाल
२६ वर्षिय पोर्चुगल मिडफिल्डर आफ्नो करियरको प्राइममा साउदी लिगमा सर्ने पहिलो स्थापित नाम मध्ये एक हो । वोल्भरह्याम्प्टन वान्डरर्सका कप्तानको भुमिका समेत निर्वाह गरेका उनी अल हिलालसँग तीन वर्षको सम्झौतामा ६० मिलियन डलरमा सामेल भएका छन् ।
जोर्डन हेन्डरसन : लिभरपुलदेखि अल–एत्तिफाक
३३ बर्षिय हेन्डरसनले जुलाई २७ मा अल–एत्तिफाकसँग हस्ताक्षर गरे । लिभरपुल लिजेन्ड स्टिभन जेरार्ड टिमको प्रबन्धकको रुपमा अल–एत्तिफाकसंग अनुबन्ध भएपछि पुर्व सहकर्मी नेभ्सलाई क्बल भित्र्याए । क्लबले प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जित्दा इंग्ल्यान्डका खेलाडी जेरार्ड लिभरपुलका कप्तान थिए । उनले प्रति हप्ता ९ लाख डलर कमाउने बताइएको छ ।
कालिदो कुलिबाली : चेल्सी देखि अल–हिलाल
सेनेगाली डिफेन्डर स्ट्यामफोर्ड ब्रिजमा एक सिजन बिताएर तीन वर्षको सम्झौतामा रियादमा नेभ्ससँग सामेल हुनेछन् । ब्रिटिश मिडियाले स्थानान्तरण शुल्क लगभग २१.६ मिलियन डलर भएको रिपोर्ट गरेका छन् ।
सर्गेज मिलिन्कोभिक साभिक : लाजियो देखि अल–हिलाल
२८ वर्षीय सर्बियालीले सन् २०२६ सम्म अल हिलालसँग सम्झौता गरेका छन् । ८ बर्ष इटालियन क्लबमा बिताएर उनको यात्रा मध्यपुर्व तर्फ सोझिएको छ । इटालियन मिडियाको रिर्पोट अनुसार अल हिलालले मिडफिल्डरको लागि लगभग ४४.५ मिलियन तिरेको छ ।
मार्सेलो ब्रोजोभिक : इन्टर मिलान देखि अल–नासर
३० वर्षीय क्रोएसियाली मिडफिल्डरले साउदी क्लब अल नासरसंग तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन । क्रोएसिया राष्ट्रिय टोलीका नियमित सदस्य ब्रोजोभिकले पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डासंगै अल नासरमा देखिनेछन् । इटालियन मिडियाले स्थानान्तरण शुल्क १९.६ मिलियन डलर रहेको बताएको छ । इटालियन क्लबसंग रहँदै उनले २०२०–२१ को सिरी ए, कोपा इटालिया, सुपर कोपा इटालिना जितेका थिए । २०२१–२२ सिजनको उत्कृष्ट मिडफिल्डर उनले मिलानसंग रहँदै च्याम्पियन्स लिग २०२२–२३ र युरोपा लिग २०१९–२० को उपविजेता टोलीमा रहेका थिए ।
सेको फोफाना : लेन्स देखि अल–नासर
२८ वर्षीय आइभोरी कोस्ट मिडफिल्डर तीन वर्षको सम्झौतामा क्रिस्टियानो र ब्रोजोभिकसंग अल नासरमा सामेल भएका छन् । ३ बर्ष अघि सिरी ए क्लब युडिनेसबाट लिग वान क्लब लेन्समा आवद्ध फोफनाले यस सिजनबाट रियाद क्लब रोजे । फ्रान्सेली मिडियाले स्थानान्तरण शुल्क लगभग २८.१ मिलियन डलर रहेको बताएको छ ।
एलेक्स टेल्स : म्यानचेस्टर युनाइटेड देखि अल–नासर
ब्राजिलियन डिफेन्डरले रेड्सका लागि ५० खेल खेलेपछि युनाइटेडका पूर्व सहकर्मी रोनाल्डोसँग पुनर्मिलनका लागि तयार छन् । गत सिजन, उनले स्पेनिस क्लबसँग लोन स्पेलमा सेभिल्लासँग युरोपा लिग जितेका थिए ।
टेल्सले २०२५ सम्म एक सम्झौतामा हस्ताक्षर गरे । मिडिया रिपोर्टका अनुसार युनाइटेडले सम्झौता बापत ७.७१ मिलियन डलर पाउनेछ ।
रियाद महरेज : म्यानचेस्टर सिटी अल–अहली
३२ बर्षिय अल्जेरिय स्टार म्यानचेस्टर सिटीसंगको ट्रिबलपछि यस सिजनबाट जेद्दामा विताउनेछन् । जहाँ उनलाई प्रिमियर लिगको प्रतिद्धन्द्धी क्लब लिभरपुलबाट स्थानान्तरण भएका रोवर्टो फर्मिनो र चेल्सीबाट आएका मेन्डीले साथ दिनेछन् । ३८.५ मिलियनमा अल्जेरियन स्टार इथियार्डबाट तीन वर्षको सम्झौतामा जेद्दामा रहनेछन् । सिटीसंग रहँदै उनले लगातार ३ इग्ंिलस प्रिमियर लिग जितेका थिए ।