विराटनगर — विराटनगरस्थित सहिद मैदान धुलाम्ये थियो । आसपासका खाली चौरमा पनि बुङ्बुङ धूलो उड्थ्यो । त्यही धूलोमा ऊबेलाका तन्नेरी नरेश श्रेष्ठ पानी छ्याप्ने र क्रिकेटको कच्ची पीच बनाएर युवाहरूलाई क्रिकेट खेल्न उत्साहित गर्थे । यो कुरो २०३४–०३५ सालतिरको हो ।
यसक्रममा ७५ वर्षीय नरेशले आफ्नो जीवनको ४५ वर्ष क्रिकेटमै समर्पित गरे । यो यात्रामा उनलाई क्रिकेटका प्रायः सबै पण्डितहरूले पूर्वाञ्चल क्रिकेटको ‘भीष्मपितामह’ उपनाम पनि दिए । उनैको शुक्रबार निधन भएको छ ।
आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित विराटनगरका स्थायी बासिन्दा श्रेष्ठको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारक्रममा निधन भएको हो । उनी डेढ महिनादेखि उपचार्थ थिए । पत्थरी देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आन्द्रामा क्यान्सर देखियो ।
शल्यक्रियाका क्रममा आन्द्रा काटेर फालिएको थियो, तर जोडिएको आन्द्राबाट ‘लिकेज’ भएपछि उनलाई चार सातादेखि भेन्टिलेटरमा राखिएको थियो । उनलाई नजिकबाट चिन्ने क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी नन्दकिशोर राठीले ‘नरेश दाइ’ को निधनले कोशी प्रदेशमात्र नभई मुलुकको क्रिकेटले कुशल अभिभावक गुमाएको बताए ।
उनी फाट्टफुट्ट क्लबहरूबाट क्रिकेट खेल्थे । खेल्नेभन्दा पनि उनको दखल क्रिकेट व्यवस्थापनमै रह्यो । उनले त्यसमै योगदान दिए । त्यसक्रममा उनले विराटनगरमात्र नभएर तत्कालीन कोशी अञ्चललाई नै क्रिकेटबाट चिनाए ।
राठीले भने, ‘उहाँले धुलो मैदानमा पानी छ्यापेर कच्ची पीच बनाएर युवालाई खेल्न लगाउने, ठाउँ–ठाउँमा क्लब खोल्ने र बढीभन्दा बढी प्रतियोगिता आयोजना गरेर युवालाई क्रिकेटमा आकर्षित गर्नमा आफ्नो जीवन समर्पित गरे ।’
सहिद मैदानको एउटा कुनाको धुलोमा पानी छ्याप्दै मैदान सम्याएर युवालाई प्रशिक्षण गराउँथे । मैदानको बीच भागको धुलो मारेर कच्ची पीच निर्माण गरी प्रतियोगिता आयोजना गर्थे । २०३८ देखि २०४१ सालसम्म कोशी अञ्चलवाट राष्ट्रिय क्रिकेट खेलेका राठीले स्मरण गरे, ‘त्यसबाहेक नरेश दाइले बीचबजारको डीएसपी रोडसँगै जोडिएको मीनराज पाण्डेको घरको आँगन, डिग्री कलेजको मैदान र गौशालाको मैदानमा युवालाई लगेर क्रिकेट खेलाउँथे ।’
२०३७ सालमा काठमाडौंमा भएको पहिलो जय ट्रफी क्रिकेट प्रतियोगिता खेल्न कोशी अञ्चल टिम जाँदा उनी टिम व्यवस्थापक थिए । अर्का पूर्वखेलाडी सुधीर अर्यालका अनुसार त्यसपछि उनी लामो समयसम्म तत्कालीन कोशी अञ्चल टिममा व्यवस्थापक भएर क्रिकेट विकासमै समर्पित भइरहे ।
टिमको व्यवस्थापक रहँदै उनले विराटनगरमा क्रिकेट क्लबहरू खोल्ने अभियान सुरु गरेका थिए । सुरुमा उनले युथ क्रिकेट क्लब खोले । उक्त क्लबमार्फत वार्षिक रूपमा दर्जन बढी विभिन्न प्रतियोगिता आयोजना गरेर क्रिकेटको विकासमा योगदान गरिरहे । तत्कालीन पूर्वाञ्चल खेलकुद समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसमेत रहेका अर्यालले भने, ‘नरेश दाइकै योगदानमा एकताका विराटनगर क्रिकेटमय बनेको थियो । उहाँको परिवार नै क्रिकेटप्रति समर्पित थियो ।’
उनका दुई छोरा युनिल र मञ्जित दुवैले राष्ट्रिय टोलीबाट खेले । उनकै पहलमा विराटनगरमा बरगाछी क्रिकेट क्लब, गुराँस पुस्तकालय, वीपी कोइराला इन्डो–नेपाल क्रिकेट फाउन्डेशन र पछिल्लो पटक पूर्वाञ्चल क्रिकेट एकेडेमीको जन्म भएको करिब चार दशक श्रेष्ठसँग सहयात्रा गरेका शिरीष उपाध्याय सुनाउँछन् ।
तत्कालीन पूर्वाञ्चल क्रिकेट विकास समितिका अध्यक्ष, उपाध्यक्ष रहेका उनी नेपाल क्रिकेट संघ ९क्यान० को सदस्यदेखि उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिमा सल्लाहकार थिए । २०६३ सालमा क्यानबाट हटाइएका उनी गत वर्ष पुनः सदस्यको रूपमा प्रवेश गरेका थिए ।
क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे नेपाली क्रिकेटमा नरेश श्रेष्ठको योगदान अतुलनीय रहेको बताउँछन् । ‘उनी अम्पायरिङबाट घरेलु क्रिकेटमा आए, राष्ट्रिय प्रतियोगितामा पनि अम्पायरिङ गरे,’ पाण्डेले विगत सुनाए, ‘४० को दशकमा उनी क्यानमा आए, धेरै वर्ष संघमा कार्यकारी सदस्य रहेर क्रिकेट विकासमा तल्लीन रहे । छोराहरूलाई क्रिकेटमा लगाउनु उनको सबैभन्दा ठूलो योगदान हो जस्तो मलाई लाग्छ ।’
आईसीसीले शतवार्षिकीको अवसरमा विभिन्न देशका क्रिकेट पदाधिकारीलाई सम्मान गर्ने निर्णयबमोजिम नेपाली हस्तीहरू पाण्डे र श्रेष्ठसहित तारणीविक्रम शाह, उपेन्द्र भट्टराई र शशिदत्त पाण्डेलाई शतवार्षिकी अवार्डबाट सम्मानित गरेको थियो । शाह र शशिको यसअघि नै निधन भइसकेको छ ।
‘श्रेष्ठलाई हामीले पूर्व क्षेत्रको क्रिकेटको ‘भीष्मपितामह’ मान्दै आएका छौं,’ पूर्वक्रिकेटर महमद साद बाबुले भने, ‘उनकै सक्रियतामा एकताका राष्ट्रिय टिममा पूर्वका ७ जनासम्म खेलाडी पर्थे ।’ विराटनगरमा हुने क्रिकेटका राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका प्रतियोगिताका कारण उतिबेला विराटनगर र छिमेकी जिल्लामा क्रिकेटका खेलाडीको उत्पादन अत्यधिक हुन्थे । तत्कालीन प्रदेश १ क्रिकेट संघका पूर्वसचिव रहेका बाबुले भने, ‘उहाँले विराटनगरमा क्रिकेट प्रतियोगिता आयोजना गर्न छाडेपछि सिंगो कोशी प्रदेश अहिले क्रिकेटमा पछि परेको छ ।’
छोरी ऋचाको स्मृतिमा आयोजना गरेको प्रथम ऋचा स्मृति क्रिकेट प्रतियोगिता नै उनको अन्तिम रह्यो । अस्ट्रेलियामा निधन भएकी छोरीको स्मृतिमा श्रेष्ठले चैतमा उक्त प्रतियोगिता गरेका थिए । प्रतियोगितामा तीन विभागीय टोलीसहित सुदूरपश्चिम प्रदेश, विराटनगर र भारतका विभिन्न तीन क्लबको सहभागिता थियो ।
‘नरेश अंकलको निधनले उहाँको पहलमा खुलेका क्रिकेटका यहाँका आधा दर्जन क्लब टुहुरा भएका छन्,’ क्रिकेट प्रशिक्षक महेश रिजालले भने, ‘उहाँको पहलमा उत्पादन भएका स्थानीय खलाडी र क्लबले शुक्रबार कुशल अभिभावक र प्रेरणास्रोत गुमाएका छौं ।’