बिर्तामोड । झापाको बिर्तामोड १० सैनिकबजारमा सम्पन्न प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको उपाधि विजेता नमोबुद्ध युवा क्लब सप्तरीले तीन महिना बित्न लाग्दासमेत पुरस्कारवापतको रकम अझै पाएको छैन ।
आयोजक अल इन वान क्लबका अध्यक्षले धेरै पटक ढाटेको भन्दै नमोबुद्ध युवा क्लबले पैसा उठाइदिन विभिन्न निकायलाई गुहार्दै आए पनि कसैले सहयोग गर्न सकेका छैनन् । नमोबुद्धका अध्यक्ष सुरेश लामाले गत जेठ १० गते झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालाई लिखित पत्र पठाएर आग्रह गरेका थिए ।
त्यसपछि उनले बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङलगायतलाई पटक पटक फोन गरी पैसा असुल गरिदिन आग्रह गरेका थिए । तर, कसैले पनि पैसा उठाइदिन पहल नगरेको भन्दै अध्यक्ष लामा यतिखेर आक्रोशित भएका छन् ।
आयोजक अल इन वान क्लबका अध्यक्ष कृष्ण योञ्जनले ढाटेर दुःख दिइरहँदा झापामा कसैले पनि आफूहरुलाई सहयोग नगरेको लामाले गुनासो गरे । बैशाख १६ गते बिर्तामोड १० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको खेलमैदानमा भएको फाइनल खेलमा आयोजक अल इन वान क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि जितेको थियो ।
प्रतियोगिताको विजेतालाई नगद २ लाख २ हजार तथा उपविजेतालाई १ लाख १ हजार नगद पुरस्कार तोकिएको थियो । आफूहरुले पहिलो पुरस्कार २ लाख २ हजारमध्ये कुनै पनि रकम नपाएको लामाले बताए । उनले पुरस्कारको राशि २ लाख २ हजार र यातायात खर्चवापतको २० हजार गरी पाउनु पर्ने २ लाख २२ हजार रुपैयाँ नपाएको जानकारी दिए ।
पुरस्कार नपाएको विषयमा नमोबुद्धका अध्यक्ष लामाले पटकपटक आफूलाई आग्रह गरेको बताउँदै उपप्रमुख संग्रौलाले त्यस विषयमा धेरै पटक अल इन वानका अध्यक्ष योञ्जनलाई भन्दा पनि बेवास्ता गरेको जानकारी दिएका छन् । उनले अध्यक्ष योञ्जनले पैसा नउठेको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको प्रतिक्रिया दिए ।
त्यस्तै बिर्तामोड १० का वडाध्यक्ष गुरुङले आफूले पनि पुरस्कारको रकम दिन बारम्बार ताकेता गर्दै आएको बताए । उनले जिम्मेवारीबाट पन्छिन खोजे अल इन वानको दर्ता खारेज गर्ने चेतावनीसमेत दिएको सुनाए । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले पनि त्यस विषयमा आयोजकलाई पटकपटक ध्यानाकर्षण गराउँदा चासो नलिएको बताए ।
प्रतियोगिता सम्पन्न भएको तीन महिना बित्न लाग्दासमेत आम्दानी खर्चको विवरण अध्यक्षले सार्वजनिक नगरेको अल इन वानका उपाध्यक्ष दिवाकर खरेलले बताए । प्रतियोगिता सम्पन्न गर्न १४ लाख ४२ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको थियो ।
प्रतियोगिता आयोजना गरेर पुरस्कारवापतको रकम नदिएर झापा जिल्लाकै बद्नाम गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने बिर्तामोड १० का प्रभात मुखिया बताउँछन् ।