इलाम । चियाको राजधानी इलाम । नेपालमा प्रथम चियाको बिरुवा रोपिएको जिल्ला इलामको पूर्वी उत्तर क्षेत्रमा ठुलठुला चिया बगान छन् । पूर्वी इलामको सूर्योदय नगरपालिका चिया उत्पादनको मुख्य क्षेत्र छ । चियाको राजधानी नै सूर्योदय नगरपालिका भएको हो । चियाको बिरुवा नेपाली माटोमा प्रथम पटक रोपण भएको इलाम बजारको इलाम चिया कमान क्षेत्र रहेको इलाम नगरपालिका भित्रपनि किसानका धेरै चिया बगानहरु छन् ।
पूर्वी इलामको जस्तै जिल्लाको पश्चिमि क्षेत्रको फाकफोकथुम, माङ्सेबुङ्ग र देउमाई नगरपालिकामा धेरै चिया बगानहरु छैनन् । तर त्यहि पश्चिम इलामको फाकफोकथुम गाउँपालिकामा रहेको तीनजुरे चिया उत्पादक सहकारी संस्थाको चिया उत्पादन विश्वमा सर्वोउत्कृष्ट भएको छ । तिनजुरे चिया उत्पादनक सहकारी संस्थाले उत्पादन गरेको चिया चीनमा सम्पन्न विश्व चिया टेस्टिङ्ग प्रतियोगितामा सर्वोकृष्टमा छनौट भएको हो ।
अर्गानिक चिया उत्पादनका लागि चिया उत्पादनक र किसानलाई प्रोत्साहनमा प्राथमिकता दिएको राष्ट्रिय चिया तथा कफि विकास बोर्डको पहलमा सहकारीमा उत्पादित चिया छिमेकी देश चीनमा पठाइएको थियो ।
सहकारीको स्थापना
पश्चिमी इलामको फाकफोकथुम गाउँपालिका (आमचोक गाविस) मा चिया खेतीको शुरुवात २०५१ सालमा भएको हो । चिया खेतीका लागि उत्प्रेरणा दिने काम राष्ट्रिय चिया तथा कफि विकास बोर्डको चिया विस्तार योजना पानीटारबाट भयो । पानीटार त्यतिबेला मंगलबारे गाविसमा पथ्र्यो । अहिले पानिटार देउमाई नगरपालिकामा पर्छ ।
चिया विस्तार योजना पानीटारबाट चिया खेतीबारे आमचोकका किसानले तालिम लिए । चिया खेती गर्ने, काटछाँट गर्ने र टिपाई सम्बन्धि तालिम लिएपछि किसानमा चिया खेती गर्ने जागरण भयो । चिया विस्तार योजनाका योजना अधिकृत पदम गजमेर योजना प्रमुख थिए । उनैले तालिम लिएका किसानलाई सहकारीका माध्यमबाट चिया खेती गर्न सल्लाहा दिएका थिए ।
गजमेरको सल्लाहा अनुसार तीनजुरे चिया उत्पादक सहकारी संस्थाको स्थापना भएको अध्यक्ष पदम तामाङले बताए । सहकारीको २०५१ साल चैत्र १९ गते ४६ जना किसानको उपस्थितिमा सहकारी डिभिजन कार्यालय इलाममा दर्ता भएको थियो । स्थापनाका कालमा ४४ जना पुरुष र २ जना महिला शेयर सदस्य थिए । स्थापना हुँदा सेयर पुँजी २ लाख मात्रै थियो । अहिले यो सहकारीमा २ सया ६४ जना किसान सेयर सदस्य रहेका छन् ।
जसमा ८९ जना महिला र १ सय ७५ जना पुरुष सेयर सदस्य रहेका छन् । अहिलेको सेयर पुँजी ९० लाख २१ हजार रहेको छ । सहकारीले बचत तथा ऋणको पनि कारोबार गर्दै आएको सहकारीका सदस्य सोमनाथ सर्माले बताए । बचत तथा ऋणमा सहकारीको ३२ लाख रुपैयाँ परिचालन हुँदै आएको छ ।
चिया खेतीको शुरुवात
सहकारी स्थापना भएपछि किसानले चिया खेती शुरु गरेका थिए । २०५१ सालमा सहकारी स्थापना भएको हो । सहकारीकै पहलमा पनि चिया खेती यहाँ हुन थाल्यो । त्यसपछि किसानमा चिया खेतीबारे जनचेतना वृद्धि भएको थियो ।
चियाको खेती प्रविधि र यसले दिने आम्दानीका बारेमा जानकारी भएपछि किसानले खाध्यबाली मासेर भएपछि चिया खेती गरेका थिए । अहिले यहाँ चिया खेती गर्ने किसानको सख्या निकै ठुलो छ । किसानले उत्पादन गरेको हरियो चिया पत्ति सहकारीले संकलन गथ्र्यो । संकलन भएको चिया प्रशोधनका लागि आमचोकबाट अयन्त्र पठाउनुपर्ने बाध्यता थियो ।
सहकारीको प्रशोधन उद्योग
किसानले उत्पादन गरेको चिया प्रशोधनका लागि अयन्त्र लानुपर्ने बाध्यताले सहकारीका नेतृत्वले उद्योग स्थापनाको आवश्यकता महसुस गरे । कच्चि सडक मात्रै रहेको आमचोकमा यातायातको भरपर्दो व्यवस्था पनि थिएन । त्यहि कारणले सहकारीले २०७० जेठ ५ गते चिया प्रशोधन उद्योग स्थापना गर्यो ।
चिया प्रशोधन उद्योगमा १ करोड रुपैयाँ खर्च भएको छ । स्थापनाको समयमा बार्षिक ३ हजार तयारी चिया उत्पादन गरेको सहकारले अहिले ११ हजार किलो तयारी चिया तयार हुन्छ । चियाको अघिल्लो सिजनमा उद्योगले ५७ हजार चिया प्रशोधन गरेको तथ्याङ्क छ ।
उद्योगमा गोल्डेन र ग्रिन चिया उत्पादन हुन्छ । गोल्डेन चियाका पनि तीन प्रकार छन् । नर्मल, कर्लि र पर्ल गरि तीन प्रकारको गोल्डेन र ग्रिन तयारी चिया प्रशोधन हुँदै आएको हो । सहकारीबाट उत्पादन भएको चिया पूर्ण रुपमा अर्गानिक उत्पादन हो ।
सहकारीले अहिले ७ जना लाई रोजगारी समेत दिएको छ । सहकारीको कार्यालय व्यवस्थापनमा ३ जना र उद्योगमा ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योगबाट उत्पादन भएको चिया ७० प्रतिशत नेपालको आन्तरिक बजारमा बिक्रि हुन्छ भने ३० प्रतिसत अन्तराष्ट्रि बजारमा बिक्रि हुँदै आएको छ । उद्योगको नेपाली बजार इलाम, झापा, पोखरा र काठमाडौँ हो । अन्तराष्ट्रिय बजार फ्रान्स, अमेरीका र नेदरल्याण्डका बजार हुन् । नेपालमा प्रतिकिलो १४ सयमा बिक्रि हुने चिया बिदेशी व्यापारीलाई दोब्बर मूल्यमा चिया बिक्रि हुँदै आएको सहकारीका अध्यक्ष पदम तामाङले बताए ।
उद्योगबाट उत्पादन भएको सबैभन्दा राम्रो चियाको नेपाली मूल्य १४ सय हुने गरेको छ । चैत्र महिनादेखि कात्तिक महिनासम्म चिया उत्पादन र प्रशोधन हुने यहाँ किसानले हरेक सिजनको हरियो चिया पत्तिको मुल्य प्रतिकिलो १ सय २० रुपैयाँ पाउने गरेका छन् ।
पूवार्धार निर्माणमा गाउँपालिका
ग्रामीण अर्थतन्त्रको आधार बनेको चिया खेतीलाई प्रोत्साहान गर्न गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ । गाउँपालिकाले पूर्वाधार र स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले सहयोग गर्दै आएको हो । गाउँपालिकाले किसानलाई स्वास्थ्य सेवा प्रदानका लागि सामुदायीक भवन निर्माण हुँदै आएको छ । अहिले सहकारीको १ तला पक्कि भवन निर्माण भइसकेको छ ।
सामुदायीक भवन निर्माणका लागि गाउँपालिकाले ७ लाख र नेदरल्याण्डको सहकारीको संस्थाले १४ लाख रुपैयाँ सहयोग गरेको थियो । भवन निर्माणमा सहकारीले ९ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै वडाले पक्कि सौचालय निर्माणको काम गरेको । फाकफोकथुम ५ नम्बर वडाले पक्कि शौचालय निर्माणमा सहयोग गरेको हो ।
सामुदायीक भवनमा हरेक महिनाको ९ गते किसानलाई स्वास्थ्य जाँच हुँदै आएको छ । किसानका छोराछोरी देखि वृद्धवृद्धासम्मको आधारभुत उपचार हुँदै आएको हो । स्वास्थ्य सेवाका लागि गाउँपालिकाबाट स्वास्थ्यकर्मीको सहयोग लिइएको छ भने सहकारीले औषधि खरिद गर्दै आएको छ । यहाँ सामान्य स्वास्थ्उ जाँचगरि महिलाका प्रजनन् सम्बन्धि स्वास्थ्य जाँच र दिर्घरोगीलाई भिटामिनहरु प्रदान गरिँदै आएको हो ।
सहकारीको अर्गानिक चिया
सहकारीले उत्पादन गरेको चिया पूर्ण रुपमा अर्गानीक छ । अर्गानीकमा प्रमाणिकरण गरेसँगै रेन फरेस्ट एलायन्स (च्ँब्) मा पनि प्रमाणिकरण भएको छ । दुई वटै संस्थाबाट सन् २०१६ मा प्रमाणिकरण भएको थियो । उद्योगले फेयर टेष्ट प्रमाणिकरणको काम हुँदै आएको छ । फ्रान्सको चिया सहकारीले स्वच्छ व्यापार प्रमाणिकरमा २ वर्षसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएको हो । फ्रान्सको सहकारीले तीनजुरे सहकारीबाट उत्पादन भएको चिया नियमित खरिद गर्दै आएको छ ।
अन्तराष्ट्रिय बजारमा तीनजुरे सर्वोकृष्ट
चीनमा भएको अन्तर्राष्ट्रिय चिया प्रतियोगितामा तीनजुरे सहकारीले उत्पादन गरेको ‘ब्ल्याक टी’ सर्वोत्कृष्ट घोषित भएको हो । नेपालसहित, चीन, भारत, श्रीलंका र केन्यालगायत अन्य देशहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालको ‘ब्ल्याक टी’ को एउटा नमूना सर्वोत्कृष्ट घोषित भएको थियो । २०७९ फागुनमा भएको प्रतियोतिामा ‘तीनजुरे चिया उत्पादक सहकारी संस्था’को पर्ल गोल्डेन टि को नमुना सर्वोउत्कष्ट भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा बिष्णु भट्टराईले बताए ।

नेपालकै अन्य पाँच वटा ’ब्ल्याक टी’ का नमूनाले स्वर्ण पदक र चार वटा नमूनाले रजत पदक जितेका थिए । रजत पदकमा पनि तिनजुरेको नर्मल गोल्डेन टिले जितेको थियो । राष्ट्रिय चिया तथा कफि विकास बोर्डले देशभरबाट संकलन गरेका चियाका ४४ वटा नमुना मध्ये १६ वटा ’ब्ल्याक टी’ का नमूनाहरू प्रतियोगिताका लागि चीन पठाएका थियो । तीमध्ये १० वटाले ऐतिहासिक पदक जितेका थिए,’ कार्यकारी निर्देशक भट्टराईले भने, एउटा त प्रतियोगिताकै सर्वोत्कृष्ट भएको थियो । जसमालामको तीनजुरे सहकारीको उत्पादन हो । खनालले चीन, भारत, श्रीलंका र केन्या चियाका लागि विश्वमै ख्याति कमाएको देशलाई पछि पार्दै नेपालको नमुना सर्वोउत्कृष्ट भएपछि नेपाली चियाले पनि विश्वव्यापि पहिचान बनाएको चियाको राजधानी घोषित स्थानीय तह सूर्योदय नगर उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिनाले बताए । उनले भने– ‘चीन र भारत भनेको चियाको बादशाह हो । श्रीलंकाको चिया पनि विश्वमै राम्रो मानिन्छ यस्तो अवस्थामा इलामको तीनजुरेको चियाको नमुना सर्वोकृष्ट हुनुमा इलामको मात्रै हैन नेपालको गौरव थपेको छ ।’
चिया तथा कफि विकास बोर्डको साथ
राष्ट्रिय चिया तथा कफि विकास बोर्डको निरन्तर सहयोग सहकारीमा छ । स्थापनाका लागि चिया विस्तार योजना मंगलबारेबाट तालिम, सहकारी निर्माण र खेती प्रविधिमा सहयोग गरेको बोर्डले अहिले निरन्तर सहयोग हुँदै आएको छ । नेपालकै प्रथम चिया उत्पादक सहकारी तीनजुरेलाई अहिले राष्ट्रिय चिया तथा कफि विकास बोर्डले नेपाली चियाको दिगो निर्यात गर्न अभिवृद्धि आयोजना मार्फत निरन्तर सहयोग गर्दै आएको छ । आयोजना मार्फत प्रथम चरणमा किसानहरुलाई तालिम प्रदान गरिएको थियो । आयोजनाले सहकारीका १० वटा केन्द्रमा पुगेर रोग किरा नियन्त्रण, काँटछाँट, टिपाई सम्बन्धि २ सय ४६ किसानलाई तालिम प्रदान गरिएको राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डा बिष्णु भट्टराईले बताए । उनले भने– ‘अर्गानिक चिया उत्पादनका लागि सहयोग पुग्ने हिसाबले दोस्रो चरणमा किसानको गाई गोठ सुधारका लागि भकारो सुधार कार्यक्रम संचालन भइरहेको छ ।’
अब चियाको प्लकिङ्ग सम्बन्धि तालिम र मेसिन प्रदान गर्ने बोर्डको योजना छ । आयोजनाले ३१ जना किसानको गोठ सुधार गर्ने योजना कार्यान्वय हुँदै आएको हो । यस्तै सन् २०२१ को अर्गानिक प्रमाणिकरणका लागि लाग्ने खर्चको ७० प्रतिशत टि बोर्ड तिरेको थियो । जसले गर्दा अन्तराष्ट्रियमा बजारमा धेरै चिया बिक्रिका लागि सहयोग पुगेको छ ।
नेपाली बजारमा ७० प्रतिशत चिया बिक्रि गर्ने सहकारीले अन्तराष्ट्रिय बजारमा बढी भन्दा बढी चिया बिक्रि गर्ने योजना बनाएको छ । किसानलाई सक्षम बनाई गुणस्तरीय चिया उत्पादन गर्ने गरि अन्तराष्ट्रिय बजारमा चिया बिक्रि गर्ने योजना रहेको सहकारीका अध्यक्ष पदम तामाङले बताए ।