सन्दकपुर । बजेट निर्माण, राजश्व संकलन र खर्चबाबारे सन्दकपुर ३ मा गाउँपालिकाद्धारा जनतासँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सन्दकपुर गाउँपालिकाले जनतासँग प्रत्यक्ष अन्तरसम्बाद गरि प्राथमिकताका आधारमा योजना छनौट र कार्यान्वय गर्ने निति लिएपछि वडा नम्बर ३ मा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । गाउँपालिमा संकलन हुने आन्तरिक श्रोत वृद्धि र परिचालनसँगै योजना छनौट निर्माण बारे जनतासँग अन्तरक्रिया र सुझाव संकलन लिन सबै वडाबाट प्रत्यक्ष सुझाव संकलन गर्ने योजना अनुररुप अन्तरक्रिया आयोजना गरिएको हो । सोहि योजना अनुरुप सन्दकपुर गाउँपालिका ३ को कृषि उत्पादन क्षेत्र सुलुबुङ्गमा गाउँपालिकाले जनतासँगै प्रत्यक्ष अन्तरक्रिया र सुझाव संकलन गरेको हो ।

सन्दकपुर गाउँपालिका राजश्व परामर्स समितिको आयोजनामा सन्दकपुर ३ को वडा कार्यालयमा सुझाव संकलनको काम सम्पन्न भएको हो । गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष लिल बहादूर बुर्जाको अध्यक्षतामा भएको अन्तरक्रिया र सुझाव संकलनमा वृद्धिजिवी, उद्योगी, व्यवसायी, जनप्रतिनिधि, राजनितिक दलका नेता, कर्याकर्ता, किसान र श्रमीकहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया र सुझाव संकलन कार्यक्रममा राजश्व परामर्श समितिका सचिव तथा राजश्व शाखाका प्रमुख भुपेन्द्र कट्टेलले राजश्वको दर, दायरा, क्षेत्र, आयश्रोत वृद्धिमा जनताबाट गरिनुपर्ने सहयोग र गाउँपालिकाले बनाउनुपर्ने नितिका बारेमा जानकारी गराएका थिए ।

अन्तरक्रियामा सहभागिले जनताको सुझावका आधारमा कर निर्धारण र योजना छनौटको काम गरि गाउँपालिकाको विकासमा सबैको अपनत्व विकास गर्ने योजनाका साथ कार्यक्रम आयोजना गरिएको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए । कर वृद्धि भन्दा पनि दायारा फराकिलो बनाउने योजना रहेको उनले प्रष्ट पारे । विकासका लागि कर संकलन गर्नुपर्ने बाध्यता छ, यसलाई वृद्धि गर्न सबैखाले उद्योगी व्यवसायीलाई करको दायरामा ल्याउने तर करको दर वृद्धि नगर्ने उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।

अन्तरक्रियामा बोल्दै राजश्व परामर्श समितिका सदस्य तथा सन्दकपुर वडा नम्बर ३ का अध्यक्ष लिल बहादुर बुर्जाले गाउँपालिकाले आन्तरिक श्रोत संकलनको लक्ष्य पुरा गर्न नसकेका कारण धेरै योजनाहरु कार्यान्वयमा समस्या भएकाले करको दायरा बढाई कर संकलन गर्ने योजनाका साथ जनतासँग प्रत्यक्ष सम्बाद कार्याक्रमको आयोजना गरिएको बताए । जनतासँगै प्रत्यक्ष सम्बाद गरि सबै जनताको अपनत्व हुने गरि छलफल गरि पालिकाको विकासमा जनतासँगै हातेमालो गर्ने योजना गाउँपालिकाको रहेको उनले बताए । उनले भने– हामीले करको दर वृद्धि गर्दा राम्रो देखिदैन, दायरा बढाउँदा सबै राज्यको निकायमा पुग्ने भएकाले जनताका माग अनुसारको योजनाहरु कार्यान्वयनमा पनि सहज हुनेछ । कर संकलनमा वृद्धि आए गाउँपालिका र जनतालाई पनि फाइदा पुग्ने वडाध्यक्ष बुर्जाको भनाइ छ ।

अन्तरक्रियामा सन्दकपुर गाउँपालिका आन्तरिक लेखा परिक्षक सरोज दाहालले संकलन भएको करको खर्च प्रणाली र बेरुजुबारे उपस्थितिलाई प्रशिक्षण दिएका थिए । उनले सबै बेरुजुहरु सबै एकै प्रकारको नहुने भएकाले त्यसलाई अध्ययन गर्नुपर्ने बताए ।
अन्तरक्रियामा संघ संस्थाको तर्फबाट बोल्दै समाजसेवी नेत्र रिजालले जनप्रतिनिधिले जनताका सुझाव संकलन गर्ने योजनाका साथ गरिएको कार्यक्रमले पालिका र जनताबिचको सम्बन्ध सुमधुर हुने बताए । उनले भने–जनताको मतबाट निर्वाचित भएपछि पनि जनताका सुझावका आधारमा बजेट निर्माण हुँदा जनतामा अपनत्वको विकास हुने उनले बताए ।
जनताको माग र आवश्यकतालाई जनताकै प्रत्यक्ष सहकार्यमा बजेट निर्माण गर्ने र करको दर निर्धारण गरि अघि बढ्दा सहज जनप्रतिनिधि र जनताबिचको हातेमालो बलियो हुने व्यवसायी देउकुमार राईले बताए । कर संकलनका लागि उद्योगी व्यवसायी लक्षित पूर्वाधार विकासको काम गर्नुपर्ने उनले बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गाउँपालिका अध्यक्ष रुपेन नेम्बाङले जनप्रतिनिधि र जनताबिचको सहकार्य मार्फत सन्दकपुर गाउँपालिकाको विकास गर्ने लक्ष्य राखि सुझाव संकलन गर्न आउनु राम्रो काम भएको बताए । यो कार्यक्रमको उपलब्धि हुने गरि व्यवहारमा लागु गर्नुपर्ने उनले बताए ।
अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ इलामका सल्लाहाकार तथा पर्यटनकर्मी सुजन तिमसिनाले सन्दकपुरको अर्थतन्त्र विकासको आधार कृषि, पर्यटन र पशुपालन निर्धारण भएकाले तिनै क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए । पर्यटनका माध्यमबाट सन्दकपुरको अर्थतन्त्र विकास गर्न सकिने भएकाले सन्दकपुर ३ मा किबिको व्यवसायी खेती र कृषि उपजको उत्पादनसिल क्षेत्र भएकाले फुड फेस्टिवलको आयोजना गरि पर्यटन प्रवद्र्धनका काम गर्नुपर्ने तिमसिनाको सुझाव रहेको छ ।
अन्तरक्रियामा राजश्व परामर्स समितिका सदस्य सुमन सुवेदी, व्यवसायी तथा समाजसेवी नेत्र पराजुली, हरिकृष्ण खतिवडा, वृद्धिजिवि महेन्द्र साउदेन, चन्द्र राई, दुग्ध सहकारी संस्थाका ललित गुरुङ्ग, नेपाली काग्रेसका वडा सभापछि खेम थापा, नेकपा एकिककृत समाजवादीका पार्टी अध्यक्ष तेजकुमार लुङ्गेली, राप्रपा नेपालकी पुण्यप्रभा भट्टराई, मंगोल नेसनल अर्गनाइजेसनका राम राईले जनताको सुझावका आधारमा कर वृद्धि र योजना निर्माणको काम उदाहरणिय रहेको बताएका थिए ।
५ वटै वडामा हुने आन्तरिक श्रोत वृद्धि र परिचालनसँगै योजना छनौट निर्माण बारे जनतासँग अन्तरक्रिया र सुझाव संकलन कार्यक्रमको समापन पछि बिषयगत रुपमा पनि सरोकारवालासँग प्रत्यक्ष सम्बाद गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाको जेठ ३१ गते वडा नम्बर ४ र ३२ गते वडा नम्बर १ मा अन्तरक्रिया तथा सुझाव संकलनको काम हुँदै आएको छ ।