Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटन प्रवद्र्धनका लागि विराट–बर्जु हाफ म्याराथन : च्याम्पियन बने नरेन्द्र र रेखा

पर्यटन प्रवद्र्धनका लागि विराट–बर्जु हाफ म्याराथन : च्याम्पियन बने नरेन्द्र र रेखा

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ६ २०८०


पर्यटन प्रवद्र्धनका लागि विराट–बर्जु हाफ म्याराथन : च्याम्पियन बने नरेन्द्र र रेखा

विराटनगर । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम बनेका छन् ।

म्याराथन धावक सिंहले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गर्दैं प्रथम बनेका हुन् ।

उक्त म्याराथनको दोस्रो स्थान पनि नेपाली सेनाका सुशील कुमार शाही भए । उनले १ घण्टा १८ मिनेटमा २३ किलोमिटर दूरी पार गरेका थिए भने तेस्रो स्थानमा भने वैतडीका म्याराथन धावक मोहनदेव जोशी बने । उनले उक्त दूरी १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए ।

यस्तै चौथोमा नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा, पाँचौं स्थानमा नेपाली सेनाकै श्रीकाश राईले १ घण्टा १९ मिनेट ५१ सेकेण्डमा र छैटौं स्थानमा सशस्त्र प्रहरीका किरणसिंह बोगटीले १ घण्टा २० मिनेट ५ सेकेण्डमा पुरा गरे । प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । चौथो, पाँचौं र छैटौं हुनेले सान्त्वना स्वरुप जनही १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेका छन् । पुरुष तर्फको यो प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फ नेपाल प्रहरीकी रेखा विष्ट प्रथम
यसैबीच महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छिन् । उनले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीकीे सिमा थारु चौधरी भइएन् । उनले उक्त दूरी पार गर्न १९ मिनेट ११ सेकेण्ड लगाइन् ।

यस्तै नेपाल प्रहरीकी तिर्सना कुमालले सोही दूरी १९ मिनेट ३५ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरिन् भने २० मिनेट १६ सेकेण्डमा उक्त दूरी पार गर्दै विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् । प्रतियोगिताकी प्रथम खेलाडी रेखा विष्टले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेकी छिन् । प्रतियोगितामा २९ जना महिला सहभागी थिए ।

उक्त म्याराथनको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले आज बिहान उद्घाटन गरेका थिए । खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । मन्त्रालयले ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको हो ।

ऐतिहासिक विराट राजाको दरबार क्षेत्रलाई हिन्दू धर्मालम्बीहरुको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने र त्यसबाट विशेष गरी भारतीय पर्यटकहरुलाई आकर्षित गरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ । बिहान विराटनगर १८ स्थित भेडियारीस्थित विराट राजाको दरबार क्षेत्रबाट सुरु भएको म्याराथन बर्जुमा पुगेर समापन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार