इलाम । इलामको माईजोगमाई गाउँ पालिकाको नामसालिङमा उद्यमसिलता तालिम र मौरी पालन तथा मह प्रशोधन तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति इलामको आयोजनामा १० दिने उद्यमसिलता तालिम र ७ दिने मौरीपालन तथा मह प्रशोधन तालिम सम्पन्न भएको हो ।
भगत सर्वजित सिप विकास कार्यक्रम अन्तरगत संचालन भएको उद्यमसिलता तालिममा साविक नामसालिङ गाविसका २४ जना र मौरी पालन तथा मह प्रशोधन तालिममा ५ जनाको सहभागिता रहेको थियो ।
१० दिनसम्म संचालन भएको उद्यमसिलता तालिममा घरेलु तथा साना उद्योग विकास समितिका खड्ग बहादूर बस्नेत र देबेन्द्र सुबेदीले सहजिकरण गर्नुभएको थियो भने मौरी पालनको लक्ष्मी दाहालले सहजिकरण गर्नुभएको थियो । संचालन भएका दुई वटै तालिमको समापन मंगलबार एक कार्यक्रम आयोजना गरि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 
जिल्ला दलित समन्वय समितिका उपाध्यक्ष जिवन सिवाको अध्यक्षतामा भएको समापन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत नविनकुमार पौडेल, नामसालिङ्ग उच्च माध्यमिक विद्यालयका प्रचार्य प्रदिपकुमार देव, नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिना, नेपाली काग्रेंसका नरेन्द्र कुमार देवान, एमालेका गणेश राई, आदिवासी जनजाति महासंघका यम काजि लाप्चा र गाविसका प्रतिनिधि धिरेन राईले तालिममा लिएको सिप प्रयोगमा ल्याउन आग्रह गरेका थिए ।