फिक्कल । इलामको सूर्योदय नगरपालिकामा दुई दिने साहित्य अभिमुखीकरण तथा बहुभाषिक कवि गोष्ठी शुरु भएको छ ।
सूर्योदय नगरपालिकाको नगर स्तरीय साहित्य , कला तथा संगीत प्रतिष्ठानको आयोजनामा बिहीबारबाट करफोकमा शुरु भएको साहित्य अभिमुखीकरण तथा बहुभाषिक कवि गोष्ठी दुई दिन सम्म संचालन हुने छ ।
बिद्यार्थी र युवालाई साहित्य लेखनमा प्रेरित गर्ने र बिभिन्न भाषाको साहित्य मार्फत प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
साहित्य लेखन अन्तर्गत कविता गजल लेख्न सिकाईने छ । कवि मनु मञ्जिल र देवान किरातीले गजल कविता लेखनका बिषयमा प्रशिक्षण दिईरहेका छन् । नाट्यकर्मी सोनु जयन्तीले नाटकको प्रशिक्षण दिईरहेका छन् ।
सूर्योदय नगरपालिका सामाजिक बिकास समितका संयोजक डिक बम्जनको अध्यक्षता तथा पूर्व नगर उप प्रमुख दुर्गादेबी भट्टराईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताले साहित्यलाई पर्यटन प्रवर्धनमा जोडनु पर्ने बताए ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका पूर्व उप प्रमुख दुर्गादेबी भट्टराईले साहित्य मार्फत पर्यटन प्रवर्धन गर्न सकिने जानकारी दिइन्। उनले साहित्यले हरेक समाजको यर्थाथ चित्रण गर्ने भएकाले साहित्य सिर्जनामा युवालाई समेट्नु पर्ने बताइन । उनले बिगतमा गरिएका कामलाई नगरले निरतरता दिनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै कवि देवान किरातीले समुदायमा भइरहेका गतिविधिलाई साहित्य सिर्जना गर्न सिकाईने बताए । शुक्रबार ४० बढी साहित्यकारले बिभिन्न भाषामा कविता वाचन गर्ने आयोजक नगर स्तरीय साहित्य , कला तथा संगीत प्रतिष्ठानका सदस्य डिल्ली सुवेदीले जानकारी दिए।
उनले राई, लिम्बु लाप्चा , शेर्पा , तामाङ आदि भाषामा कविता वाचन हुने जानकारी दिए । सुवेदीले भन्नु भने ‘हामी बहु भाषिक संस्कृति भित्र रहेका छौ, यसको प्रवर्धन गर्ने हाम्रो उद्देश्य हो ।’
कार्यक्रममा अध्यक्ष डिक बम्जन, वडाध्यक्ष डोलेन्द्र भारद्वाज, कार्यपालिका सदस्य लता गौतम अधिकारी, करफोक माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक राजु कट्टेल लगायतले बोलेका थिए ।
नगर स्तरीय समितिले उक्त साहित्यीक कार्यक्रम संगै नाटक महोत्सव र गायन प्रतियोगिता समेत आयोजना गरेको छ ।