काठमाडौँ । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरको पर्यटन प्रवद्र्धन गर्न ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) ले सहकार्य गर्न तयार भएको छ । राजधानी काठमाडौँ पुगेको सन्दकपुरका वडाध्यक्षहरू लीलबहादुर बुर्जा, यज्ञबहादुर गुरुङ र सनम राई सहितको टोलीले ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपालका पदाधिकारीसँग (टान)को केन्द्रिय कार्यालयमा बुधबार छलफल गरेको थियो ।
सूर्योदय र सूर्यास्तको अवलोकनसँगै सन्दकपुरबाट नेपाल, भारत र भुटानका ६० भन्दा बढी हिमाल देख्न सकिने सन्दकपुरको पर्यटकीय क्षेत्र जोड्ने पदमार्ग निर्माणको काम भएकाले सो पदमार्गमा स्वदेशी र बिदेशी पर्यटकहरुलाई पदयात्राका लागि पु¥याउने वातावरण बनाउन र पदमार्गको प्याकेज निर्माणका लागि (टान) लाई सहयोग गर्न प्रस्ताव गरेको थियो । जवाफमा (टान) का अध्यक्ष निरहरि बास्तोलाले पर्यटकीय क्षेत्र इलामको पर्यटन प्रवद्र्धन र त्यससँगै सन्दकपुरको पदमार्गलाई नामाकरण गरि त्यसलाई विश्व बजारमा बिक्रि गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने– ‘पर्यटकीय क्षेत्र भ्रमण नै गर्ने गरि समय मिलाएर इलाम आउँछौँ र त्यस क्षेत्रको थप सम्भावनाको खोजी गरि हामी योजना बनाएर कार्यान्वयनमा लैजाऔँ ।’

अन्तरक्रियामा (टान) का महासचिव विनोद सापकोटाले संस्था आफै पुग्नुपर्ने ठाउँमा गाउँपालिका नै आफैँ सक्रिय भएर आउनु र प्रवद्र्धनमा लाग्नु सकारात्मक भएकाले सहकार्यका लागि सजिलो भएको बताए । उनले भने–‘कृषिपछिको अर्थतन्त्रको आधार पर्यटन भएकाले त्यसलाई प्रवद्र्धन गर्न (टान) सधै सहकार्य गर्न तयार रहेको बताए ।’ पर्यटन प्रवद्र्धन गर्र्न गाउँपालिका आफै आउनु साकारात्मक कुरा भएकाले गाउँपालिका र टान बिच अर्को बैठकमा के के काम गर्ने भनि संझौता नै गरेर अघि बढ्न सकिने प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेडाईले बताए । टानलाई सन्दकपुर गाउँपालिकाले प्रकाशन गरेको पर्यटकीयस्थलहरुको फोटो बुक हस्तान्तरण गरिएको थियो । पत्रकार सुजन तिमसिनाले ६ वर्ष लगाएर खिचेको सन्दकपुर क्षेत्रका तस्बिर संगृहीत पुस्तक सन्दकपुर गाउँपालिकाले हालै प्रकाशनमा ल्याएको थियो ।
सन्दकपुर डाँडा इलामकै सबैभन्दा अग्लो (३,६३६ मि.) स्थानमा रहेको पर्यटकीय क्षेत्र हो । भारतीय सीमा क्षेत्रमा पर्ने सन्दकपुरमा भारतीय नागरिकका साथै तेस्रो मुलुकबाट पनि पर्यटक भित्रिने गरेका छन् । छिन्तापु, कालपोखरी, कैयाकट्टा, जौबारी, टप्पु, माबुथाम, हाँगेथाम जस्ता अग्ला थुम्काहरू पनि यहाँका आकर्षण हुन् । सन्दकपुर गाउँपालिकाभित्रै रेडपाण्डा पनि अवलोकन गर्न सकिन्छ ।