फिक्कल । नेपाली चियाको बिषेश दिन वैशाख १५ गते हुन्छ । चिया किसानहरु लागि महत्वपूर्ण दिन अर्थात् राष्ट्रिय चिया दिवस सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा मनाइएको छ । राष्ट्रिय चिया दिवसका अवसरमा आज इलामको सूर्योदय नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
राष्ट्रिय चिया तथा कफी विकास वोर्डको आयोजनामा सुरु भएको कार्यक्रमको नेपाल सरकारका कृषि तथा पशुमन्त्री विकास मन्त्री वेदुराम भुसालले उद्घाटन गरेका थिए । चिया दिवसको उद्घाटन गर्दै कृषि तथा पशुमन्त्री विकास मन्त्री वेदुराम भुसालले देशको व्यापार घाटा कम गर्नका लागि चियाको निर्यात प्रवद्र्धन गरि अर्थतन्त्र बलियो बनाउनु पर्ने बताए ।
कार्यक्रममा उपस्थित वक्ताहरुले देशमा विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्न थालेको नेपाली चियाको विकास विस्तार र बजारीकरणमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास राखेका थिए । कार्यक्रममा चिया उद्योगी उदय चापागाई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, पूर्व प्रदेशमन्त्री राम राना, पूर्व पर्यटन तथा सस्कृति मन्त्री खिनु लङ्वा लिम्बु लगायतले मन्तव्य राखेका थिए । चिया तथा कफी विकास बोर्डले २७ औं संस्करणका रुपमा चिया दिवस मनाइरहँदा यो वर्ष ‘गुणस्तर निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौं ’ भन्ने नारा तय गरिएको छ । कार्यक्रममा जापान, चिन, जर्मनका चिया व्यवसायीको उपस्थिति रहेको थियो ।
विसं १९२० मा इलाम चिया बगानबाट रोपण सुरु गरिएको चिया अहिले २० हजार दुईसय १९ हेक्टर जमिनमा विस्तार तथा उत्पादन भइरहेको बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८।०७९ मा चियाको उत्पादन १३ हजार ८८५ मेक्ट्रिक टन पुगेको जनाइएको छ । यो वर्ष चीनमा नेपाली चिया उत्कृष्ट भएपछि विदेशबाट नेपाली अर्थोडक्स अर्गानिक चियाको माग उच्च रहेको कार्यक्रममा बताइएको थियो । चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डा बिष्णु भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । यस पटकको चिया दिवसमा चीन, अमेरिका, रसिया, अस्ट्रेलियालगायतका देशबाट विदेशी इलाम आइपुगेका व्यवसायीबाट पर्यटकीय स्थल अन्तुमा चिया ‘टेस्टिङ’को कार्यक्रम तय भएको वोर्डले जनाएको छ। स्तै, टी टेस्टिङमा विदेशी चिया व्यापारी सहभागी हुनेछन् ।
विसं १९२० मा इलाममा चिया खेती सुरु भएको भए पनि झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई विसं २०३९ मा चिया क्षेत्रका रुपमा घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरिएको पाइन्छ ।
चालु आवको तथ्याङ्कअनुसार नेपालमा २० हजार दुई सय १९ हेक्टरमा चिया रोपण भएको र २६ हजार तीन सय ७९ मेट्रिक टन चिया उत्पादन भएको छ । त्यसैगरी भारतलगायत तेस्रो मुलुकमा १३ हजार आठ सय ८५ मेट्रिक टन चिया निर्यात गरिएको बोर्डले जनाएको छ ।