आयोजक ‘अल इन वान’ क्लब प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजकले कम्तीमा १ लाख १ हजार सुरक्षित गरेको हो ।
बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भएको खेलमा आयोजकलाई जित दिलाउन २१ औं मिनेटमा लक्ष्मी श्रेष्ठ पहिलो गोल गरिन् । त्यस्तै २८ औं र ४८ औ मिनेटमा नेपाली महिला राष्ट्रिय टिमकी सदस्य समेत रहेकी सविता राना मगरले थप २ गोल गरिन ।
४९ औं मिनेटमा बिष्णु सम्वाहाम्फेले गोल गर्दै अग्रता कम पारिन् । खेलको ५३ औ मिनेटमा अनिता लम्जेलले चौथो गोल गरीन् । इन्जुरी समयमा मेनुका मगरले गोल गरेपछि ५—१ अन्तरको जितको साथ आयोजकले अन्तिम २ मा स्थान बनाउन सफल रहयो ।
आयोजककी सविता राना मगर ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाइन् । प्रतियोगितामा भोलि (बिहिबार) नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबिच दोस्रो सेमिफाइनल खेल हुने छ ।
बिहिबारको खेलको विजेतासंग आयोजक ‘अल इन वान’ले १६ गते शनिबार फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।