Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर महोत्सव : पर्यटन विकासका लागि एकजुट हुन प्रतिवद्ध

सन्दकपुर महोत्सव : पर्यटन विकासका लागि एकजुट हुन प्रतिवद्ध

  • किरण राई
  • सोमबार, बैशाख ११ २०८०


सन्दकपुर महोत्सव : पर्यटन विकासका लागि एकजुट हुन प्रतिवद्ध

सन्दकपुर । प्रथम सन्दकपुर महोत्सवको एक समारोहका बिच समापन गरिएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यका साथ बैशाख ५ गते औपचारिक उद्धघाटन गरिएको महोत्सवको आइतबार एक कार्यक्रमका बिच समापन गरिएको हो । समापन कार्यक्रमका वक्ताहरुले एकताको कारण सन्दकपुर पर्यटनको गन्तव्यको रुपमा अघि बढ्न सफल भएको बताएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद खिनु लङ्वा लिम्बुले सन्दकपुर गाउँपालिकामा तीन तहको सरकारको समन्वयका कारण विकासले गति लिएको बताइन् । उनले सन्दकपुर पर्यापर्यटनसंगै खेलकुदको क्षेत्रमा समेत अब्बल रहेको आगामी दिनमा निरन्तर संचालन गरेर आन्तरिक एवम बाह्य पर्यटकहरुलाई आर्कषित गर्न सकिने सन्देश गएको बताइन् ।

उनले अन्य विकास निर्माण र पर्यटन प्रर्वद्धनको निम्ति कार्यहरु भइरहेको आगामी दिनमा समेत निरन्तर पाउनेमा विश्वास व्यक्त गरिन् । उनले पहिलो महोत्सव भएको कारण भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्न सुझाव दिइन् । कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद शम्शेर राईले पर्यटनका योजनाहरु एक अर्कासंग जोडेर बनाउनुपर्ने बताए । उनले सन्दकपुरको पर्यटन विकास उदाहरणीय भएको बताउँदै संघ, प्रदेश र स्थानीय तहले गर्नुपर्ने कार्यको बारेमा छलफल गर्ने आग्रह गरे ।

उनले आफुहरुले नीति निर्माणको तहमा सहयोग गर्ने बताए । राईले पर्यटन विकासको योजना निर्माणमा सहकार्य जरुरी रहेको बताए । उनले सन्दकपुर महोत्सवले इलामको पर्यटन विकासमा सकारात्मक सन्देश गएको समेत बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले महोत्सवबाट सन्दकपुरको पर्यटन र समृद्धिको बारेमा सकारात्मक प्रचार हुन सकेको बताए । उनले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने उद्धेश्यका सफल भएको बताए ।

गुरुङले महोत्सवका उपलब्धी आगामी पिडिहरुको लागि दस्ताबेजको रुपमा रहेको बताए । कार्यक्रममा बोल्दै उपाध्यक्ष हरि लुङ्गेली मगरले महोत्सव आयोजना सोचे अनुरुप सफल भएको बताए । उनले गाउँपालिकाले परिमाणात्मक भन्दा गुणात्मक विकासलाई प्राथमिकता दिएको कारण महोत्सवबाट सन्दकपुरको पर्यटनको बारेमा विश्व माझमा पु¥याउन सफल भएको बताए । उनले महोत्सवको समिक्षा गरेर आगामी दिनमा अझ परिस्कृत बनाएर निरन्तरता दिने बताए ।

वडा नं ३ का वडाध्यक्ष लिलबहादुर बुर्जाले सन्दकपुर महोत्सवले अल्पकालिन भन्दा पनि दिर्घकालिन विकासको लक्ष्य लिएको बताए । उनले महोत्सवबाट दिर्घकालिन विकास र समृद्धिको सोच राखिएको बताए । वडा नं १ का वडाध्यक्ष रहरकुमार राईले सन्दकपुर पर्यटकीय गन्तव्यहरुको अथाह सम्भावना भएको क्षेत्र रहेको बताए । उनले सन्दकपुरको पर्यटकीय गन्तव्यहरुलाई फरक फरक कोणबाट समेत विश्लेषण हुने गरेको बताए ।

कार्यक्रमको समापन गर्दै आयोजक समितिका अध्यक्ष जीवन शिवाले सन्दकपुरलाई देश विदेशमा चिनाउनका लागि सफल भएको बताए । उनले परिमाणात्मक भन्दा पनि गुणात्मक रुपमा महोत्सवले सफलता पाएको बताए । महोत्सव सुरुवात मात्रै भएकाले आगामि दिनमा अझ समन्वय गरि कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सहसचिव देवेन्द्र सुवेदी, नेकपा एमाले याम बहादुर राई, माओवादी केन्द्रका प्रेम नाछिरिङ, शिक्षासेवी नेत्र रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महोत्सवमा कृषि उपज, दूग्ध परिकार, जातिय सस्कृति, स्थानीय परिकार र पर्यटकीयस्थलको प्रचारका लागि प्रवद्र्धनात्मक स्टलहरु राखिएको थियो । महोत्सवको अवसरमा सांगितिक, साहित्यिक कार्यक्रम एवम जातिय झाँकी समेत प्रस्तुत गरिएको थियो । महोत्सवमा राष्ट्रिय स्तरमा ख्याती कमाएका उदय र मनिला सोताङ, प्रताप दास, डम्बर नेपाली, सुवोध गौतमसंगै स्थानीय कलाकार र व्यान्डको समेत प्रस्तुती रहेको थियो ।

आदिवासी जनजाति महासंघको समन्वयमा महोत्सव अवधिभरमा १३ वटा जातिय झाँकीहरु देखाइएको थियो । संघीय सरकारबाट २०७६ सालमा एक प्रदेश एक सास्कृतिक ग्राममा घोषित भई पर्यटन पूर्वाधारका काम हुँदै आएका सन्दकपुर गाउँपालिकामा पर्यटनका माध्यमबाट बढी भन्दा बढी स्थानीय बजारहरुलाई चलायमान गरि अर्थतन्त्रको विकास गर्न प्रचारप्रसारको रुपमा महोत्सव आयोजना गरिएको हो । कार्यक्रमको संचालन सचिव रुपेन नेम्वाङले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार