फिक्कल । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिका सहित विभिन्न पालिकाका अधिकांश किसानका गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान समास्यामा परेका हुन् ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राईले महामारीको रुपमा फैलिएको यस रोगको निर्मुलिकरणका लागि पालिकाले सहयोग गर्दै आएको बताए । उनले प्राविधिक सहयोगको निम्ति नगरपालिकाको पशु शाखामा सम्पर्क राख्न किसानलाई अनुरोध गरिएको जानकारी दिए ।
गाईभैँसीमा ‘लम्पि स्किन’ भएमा ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा पशुको मृत्यु हुने गरेको सूर्योदयका पशु शाखा प्रमुख विपिन कुमार सिंहले बताए ।” किर्ना, भुसाना,झिँगा,लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै रहेको छ ।’
उनले भने, “रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो । हालसम्म प्राप्त जानकारी अनुसार हाम्रो नगरपालिकामा ५ वटा पशु मरेका छन । सङ्क्रमण देखिएको पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ।”
गत बर्ष छिमेकी जिल्ला झापामा भयावह बनेको यो महामारी यस वर्ष गत असोजदेखि फाट्टफुट्ट देखा पर्न थालेको थियो । शुरुमा इलामको रोङ गाउँपालिकामा देखापरेको ‘लम्पि स्किन’ रोग अहिले जिल्लाका माईजोगमाई,सन्दकपुर लगायतका अन्य थुप्रै पालिकामा समेत फैलिएको छ ।
माईजोगमाईका पशु किसान कुमार थापाको लैनो गाईमा उक्त रोग देखापरेपछि छिमेकीका पशुमा समेत देखा परेको थियो । थापाले भने, “यो हावाको माध्यमबाट सर्दो रहेछ । कोरोनाकालमा मान्छे मर्ने त्रास थियो । अहिले गाई मर्ला कि भन्ने परि बढ्यो ।” दिनको १८ लिटर दुध दिँदै गरेको गाईमा रोग आएपछि आधा उत्पादन घटेको उनको भनाई छ ।
यो रोग लागेपछि पशुलाई सार्वजनिक स्थलमा चरणका लागि लैजान नहुने, अन्य बस्तुभाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुन सक्ने चिकित्सक भुपाल पोख्रेलले बताए ।