इलाम । इलाममा आत्महत्या र लागु औषधको कुलत न्युनिकरणका लागी चुलाचुली गाँउपालिकामा कार्यक्रम सुरु गरिएको छ । वडा नं ३ को आयोजना र गाँउपालिकाको समन्यवमा २ दिन आत्महत्या गरेका परिवारका सदस्य, कुलतमा फसेका युवा र लागु औषध प्रयोगकर्ता युवाका अभिभावकहरुलाई समेटेर प्रर्वद्धनात्मक कार्यक्रम आयोजना गरिएको हो । द स्कुल अफ साइक्लोजी नेपाल काठमाण्डौको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमलाई डा नगेन्द्रसिंह ठगुन्ना, मणी केरुङ र भिम सिनालले सहजीकरण गरेको वडाध्यक्ष नरेन्द्र लावतीले जानकारी दिए । नमुनाका रुपमा वडा नं ३ वाट सुरु गरिएको कार्यक्रम प्रभावकारी भएको खण्डमा गाँउपालिकाको सवै वडामा लागु गरिने कार्यकारी अधिकृत छविलाल खतिवडाले जानकारी दिए ।
इलाममा यस्ताे छ आत्महत्या र लागु औषधको कारोवारकाे अवस्था
इलाममा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको पाईएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव ०७३÷७४ मा आत्महत्या गर्नेको संख्या झण्डै दोब्बरले बढेको जिल्ला प्रहरी कार्यालय इलामको तथ्याङ्कले देखाउँछ । कार्यालयको तथ्याङ्क अनुसार गत आवमा इलामका १ सय ८ जनाले आत्महत्या गरेका थिए । जसमध्ये सबैभन्दा बढी ९९ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ८ जनाले बिष सेवन गरेर र १ जनाले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

अघिल्लो आव ०७२÷७३ मा इलामका ६० जनाले आत्महत्या गरेका थिए । जसमध्ये ५८ जनाले झुण्डिएर र दुई जनाले बिष सेवन गरेर आत्महत्या गरेका थिए ।
जिल्लामा दुवै आर्थिक वर्षमा आत्महत्या गर्नेमा महिलाको संख्या बढी पाईएको छ । अनुसन्धानले घरेलु हिंसा, यातना, विपन्नता, पारिवारिक कलह, दीर्घरोग आदिका कारण आत्महत्या गरेको प्रहरी उपरिक्षक विपिन कर्मचार्यले बताए ।
गत आर्थिक बर्षमा लागु औषध ओसारपसारको आरोपमा इलामबाट ७ वटा मुद्धा दर्ता भएका छन । आर्थिक बर्ष २०७२÷७३ र ०७३÷७४ मा लागु औषधका ३÷३ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाउछ । खुल्ला सिमानाका कारण इलाममा लागुऔषधको कारोवार र प्रयोगकर्ताहरु बढदै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।