इलाम । नयाँ बर्षको अवसरमा इलाममा म्याराथन आयोजना हुने भएको छ । पर्यटन प्रर्वद्धनको उद्धेश्यका साथ बैशाख १ गते म्याराथन गर्न लागिएको हो । पुरुष तर्फ ४२.२ किलोमिटरको म्याराथन र महिला तर्फ २१.२ किलोमिटर हाफ म्याराथन हुनेछ । ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान–पर्यटन प्रवर्धन’ नारासहित आयोजना हुने प्रतियोगितामा पुरुषले इलाम नगरपालिका–१०, गोदकको नारायण चोकदेखि सन्दकपुर गाउँपालिकाको माइपोखरी सातखाल्डेसम्म र महिलाले इलाम बजारदेखि सातखाल्डेसम्मै दौडिनुपर्नेछ ।
पुरुषतर्फको विजेताले २ लाख ५० हजार तथा महिलाको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । पुरुष म्याराथनको दूरी पार गर्न ४ घन्टा १० मिनेट र महिलाका लागि २ घन्टा ५ मिनेट समय निर्धारण गरिएको छ । पुरुषतर्फ दोस्रो हुनेले १ लाख ५० हजार , तेस्रोले १ लाख, चौथोले ५० हजार, पाँचौंले ४० हजार, छैटौंले ३५ हजार सातौंले २५ हजार, आठौंले २० हजार, नवौंले १५ हजार र १० औं हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
महिलातर्फको म्याराथुनमा दोस्रोले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार र पाँचौंले १० हजार नगद पुरस्कार पाउने जनाइएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।
इलामका नगर प्रमुख केदार थापाले इलामका पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रिस्तरमा परिचित र चलायमान गराउन प्रतियोगिताले सघाउने बताए । ‘पर्यटनका माध्यमबाट आर्थिक क्रियाकलाप बढाउने, स्थानीय तहको सांस्कृतिक, सामाजिक, पर्यावरणीय विकास र प्रवर्धन गर्ने, नागरिकको जीवनशैली स्वस्थ तथा बहुआयामिक हिसाबले गुणस्तरीय बनाउने यसको लक्ष्य छ,’ उनले भने, ‘स्थानीय तह र विभिन्न निकायबीचको सहकार्यका माध्यमबाट जिल्लाकै सर्वाङ्गीण विकासमा योगदान गर्ने उद्देश्य हो ।’
प्रतियोगितामा भाग लिन इलामसहित देशका विभिन्न जिल्लाबाट धावकहरू आउने आशा आयोजकले गरेको छ । आयोजक समितिका गणेश खतिवडाले नेपालमात्र नभइ विभिन्न देशका धावकले समेत यसमा अवसर पाउने बताए । ‘यो प्रतियोगितामा कसले भाग लिने, कसले नलिने भन्ने छैन, दौडिन आँट गर्ने सबैले यसमा भाग लिन पाउँछन्,’ खतिवडाले भने, ‘सबै हिसाबले यो प्रतियोगिताको तयारी बलियो बनाइएको छ ।’
प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले चैत मसान्तसम्ममा आयोजकसँग सम्पर्क गर्नुपर्नेछ । जिल्लाबाहिरबाट आउने धावकका लागि प्रतियोगिताको अघिल्लो दिनको खाना र बासको व्यवस्था आयोजकले गरेको छ। खतिवडाले निर्धारित समयमा दूरी पार गर्ने प्रतियोगीलाई थप १ दिन खाना र आवास व्यवस्था गरिने बताए ।
प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताका लागि इलाम नगर, सन्दकपुर गाउँपालिका र नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघ–संस्थाबाट यो रकम संकलन गरिने आयोजकले जनाएको छ । यो म्याराथुनले इलाम र सन्दकपुरसहित जिल्लाको खेलकुद र पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।
‘पर्यटनको समग्र विकासमा एकीकृत प्रयासको खाँचो छ,’ उनले भने, ‘यो प्रतियोगिता पनि त्यही प्रयासको एउटा कार्य हो ।’ जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले खेलाडीको सुरक्षा र म्याराथुन आयोजना गरिने मेची राजमार्गको ट्राफिक व्यवस्थापनमा प्रहरीले सहयोग गर्ने बताए ।
म्याराथनकै दिन सन्दकपुर गाउँपालिकामा तेश्रो संस्करणको सन्दकपुर गोल्डकपको समेत फाइनल खेल हुनेछ । चैत्र २४ गतेबाट प्रतियोगिता आयोजना गरेर बैशाख १ गते फाइनल हुनेछ ।