इलाम । विश्व चिया सम्मेलन तथा मेला (वल्र्ड टि कन्फ्रेन्स–एक्सपो) का सहभागीले नेपाली अर्गानिक अर्थोडक्स चियाप्रति रुचि र चासो राखेका छन् । अमेरिकाको लसभेगासमा आयोजित सम्मेलनमा नेपाली चियाको स्वाद चाख्दै सहभागीले नेपाली चिया मन पराएको र विशेष चासो राखेको सहभागी चिया उद्योगी विनोद बस्नेतले बताए ।
बस्नेत इलामको साखेजुङस्थित ग्रिन भ्याली चियाद्वारा उत्पादित सिमपानी चियाको प्रर्वद्धन गर्न विश्व चिया सम्मेलनमा सहभागी भएका हुन् । सामाजिक अभियन्ता बस्नेत सो उद्योगको सञ्चालक हुन् । २ दिनसम्म चलेको विश्व चिया सम्मेलन तथा मेलामा विश्वभरका एक लाखभन्दा बढी मानिसको सहभागिता रहेको थियो । बस्नेतका अनुसार नेपाली चियाका स्टलमा सहभागीको विशेष उपस्थिति थियो ।
अमेरिकाको लसभेगासस्थित सम्मेलन केन्द्रमा भएको चिया मेलामा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र विभिन्न चिया उद्योगका प्रतिनिधि सहभागी छन् । बोर्डको तर्फबाट कार्यकारी निर्देशक विष्णु भट्टराई र वाणिज्य मन्त्रालयका सचिव गोविन्द कार्की सहभागी छन् । सिमपानी, शेर्पा, हिमालयन सांग्रिला लगायतका ब्रान्डका चिया मेलामा प्रदर्शनसहित प्रर्वद्धन गरिएको बस्नेतले बताए ।

अमेरिकामा नेपालको हिमाली क्षेत्रका जटिबुटीको तेल र चियाको बजारीकरण गर्दै आएको अरोमालयले पनि नेपाली अर्ग्यानिक चिया प्रर्वद्धनमा टेवा पु¥याएको छ । अरोमालयका को–फाउन्डर प्रबुद्ध दाहालले नेपाली चियाप्रति अमेरिकासहित विश्वका धेरै मानिसको चासो रहेको बताए । नेपालमा सहकारी तथा साना किसानद्वारा उत्पादित अर्ग्यानिक चियाप्रति विश्वका मानिसको रुचि र चासो रहेको दाहालको भनाइ छ ।
नेपाली चियाको प्रबर्द्धन र बजारीकरण कम हुँदा धेरैलाई यसबारे थाहा नभएको र नेपाली चियाले उचित बजार पाउन सकेको छैन् । सम्मेलनले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुग्ने विश्वास लिइएको अरोमालयकी सिइओ सन्ध्या दाहालले बताइन् ।