इलाम । इलामको पर्यटकीय पालिका सन्दकपुरमा चैत्र २४ गतेबाट प्रथम सन्दकपुर महोत्सब हुने भएको छ । पर्यटन मार्फत पालिकाको प्रर्वद्धन गर्ने उद्धेश्यले बैशाख १० गतेसम्म महोत्सव आयोजना हुने भएको हो । इलाम सदरमुकाममा सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी गराइएको छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादन देखी साँस्कृतिक एवम् खेलकुदका कायक्रम गरिने प्रथम सन्दकपुर महोत्सव मुल आयोजक समितिका अध्यक्ष जिवन शिवाले जानकारी दिए । उनका अनुसार २४ गते देखी देउराली बजारमा सन्दकपुर गोल्डकप आमन्त्रित फुटवल प्रतियोगिता हुने छ । सो प्रतियोगितालाई पनि महोत्सवमा नै जोडेर २४ गतेदेखी नै महोत्सव सुरु गरिने जनाइएको छ । ५ गतेबाट १० गतेसम्म सांस्कृतिका कार्यक्रमहरु हुनेछन् ।
नयाँ वर्षका अवसरमा गरिने महोत्सवमा सन्दकपुर गाउँपालिका बाहिरका १ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा ११ किसिमका कार्यक्रम समावेश गरिने मुल आयोजक समितिका सचिव रुपेन नेम्वाङले जानकारी दिए । फुटबल सहित म्याराथन ल्याण्डरोभर यात्रा, साँस्कृतिक कार्यक्रम, साइक्लिङ तथा पर्यटकीय क्षेत्रको प्रचार गरिने कार्यक्रम तय गरिएको छ ।
महोत्सवमा बालन नाच, संगीनी नाच, कौडा नाच, हुरर्रा नाच लगायतका जातीय झाँकी समेत समेत समावेश गरिएको छ । एउटा पालिकाको प्रयासले एकिकृत विकास हुन नसक्ने भएपछि अन्तरपालिका समेत समन्वय गरेर काम अगाडी बढाउन महोत्सव फलदायी बन्ने गाउँपालिकाका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।
उनले सन्दकपुर गाउँपालिकाले यसको थालनी समेत गरेको बताएका छन् । सीमा जोडिएका पालिकासँग समेत समन्वय गरेर अगाडी बढे मात्र दिगो विकास हुने भएकाले आफुहरु त्यसतर्फ समेत अगाडी बढ्ने उनको भनाई छ ।
गाउँपालिकामा पूर्वाधारका कामहरु धेरै अगाडी बढेकाले पनि कृषि र पर्यटनमा गाउँपालिकाले अब काम गर्ने बताएका छन् ।
महोत्सव सफल बनाउन ४३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । साथै ११ बिधामा अन्य बिषयगत समिति निर्माण गरिएको छ । वडा स्तरिय उप समिति गठन गरेर प्रत्येक वडामा कार्यक्रम अगाडी बढाइने आयोजकले जानकारी दिएको छ । महोत्सव सफल बनाउन २० लाख खर्च लाग्ने अनुमान गरिएको छ । फुटवल प्रतियोगिता नियमित कार्यक्रम अन्तर्गत नै रहेको र म्याराथन नयाँ कार्यक्रम भएकाले सो खर्चमा समावेश नगरिएको बताइएको छ ।
महोत्सव सफल बनाउन संघीय र प्रदेश पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, निर्माण ब्यवसायी, बिभिन्न संघसंस्थाबाट सहयोग संकलन गरिने बताइएको छ । सन्दकपुर गाउँपालिका पर्यटकीय हिसावले अगाडी रहेको छ । विश्व रामसार क्षेत्रमा सुचिकृत माइपोखरी, जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको सन्दकपुर, ढाप पोखरी, देशकै तेस्रो अग्लो टोड्के झरना लगायत समेत सोही गाउँपालिकामा पर्दछ ।
महोत्सव अवधिभर घुम्न चाहने पर्यटकलाई गाउँपालिकाका बिभिन्न पर्यटकीय स्थलमा पु¥याउन १० वटा लेण्डरोभर तयारी अवस्थामा राखिने बताइएको छ । बाहिरका पर्यटकहरु भित्र्याउन महोत्सव फलदायी बन्ने आयोजकले अपेक्षा लिएको छ ।