इटहरी । घरेलु टोली राष्ट्रिय जागृति क्लबलाई हराउँदै चर्च व्बाइज युनाइटेड इटहरी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । प्रस्तावित इटहरी रंगशालामा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेल चर्च व्बाईजले २—० गोल अन्तरले जितेको हो ।
पहिलो हाफमा १—० गोल अन्तरको अग्रता बनाएको चर्च व्बाइजले दोश्रो हाफमा १ गोल ग¥यो । चर्च व्बाइजको जितमा आशिष चापागाई र मौसम लिम्बुले गोल गरे । खेलको सुरुवातबाटै दबाब बनाएको चर्च व्बाइजले ४५ औ मिनेटमा अग्रता बनायो ।
आशिष चापागाईलाई डिबक्स भित्र राष्ट्रिय जागृतिका गोलरक्षक निरोज चौधरीले लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो । कप्तान मिलन राईको पेनाल्टी प्रहार रिबाउन्ड भएर आएपछि पाएको अवसरलाई चापागाईले जाली चुमाए । गोल गर्ने वितिक्कै घाइते भएपछि दोश्रो हाफमा चापागाईलाई सन्तोष न्यौपानले सब्स्च्यिुट गरे ।
६१ औ मिनेटमा सब्स्टिच्युट खेलाडी लिम्बुले अग्रता दोब्बर बनाए । विवेक पौडेलको स्थानमा मैदान प्रवेश गरेको ७ मिनेट नवित्दै लिम्बुले गोल गरेका थिए । खेलमा चर्च ब्वाइजले घरेलु टोली माथि निक्कै दबाब सृजना गरेको थियो । ३६ औ मिनेटमा चर्च व्बाइजमा बेम्पाको फ्रिकिक प्रहारलाई चापागाईले गरेको हेडर गोलरक्षक चोधरीले बचाए ।
५४ औ मिनेटमा चर्च व्बाइजमा कप्तान मिलनको प्रहार फ्रेममा पर्न सकेन् । ६९ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा सन्तोष न्यौपानले पाएको अवसर खेर फाले । ८० औ मिनेटमा गोलरक्षक अघि बढेको मौका गगनदिप सिंहको प्रहार आकासिएको थियो । इन्जुरी समयमा चर्च व्बाइजका कमल श्रेष्ठको प्रहारलाई गोलरक्षक चौधरीले बाहिर पठाइदिए ।
राष्ट्रिय जागृतिले कडा चुनौती दिएपछि गोलपोष्टमा फितलो प्रहार मात्र गर्न सक्यो । खेलको २९ औ मिनेटमा कप्तान कब्बु राईको क्रसमा पाएको अवसरमा प्रवेश दनुवारको हेडर फ्रेममा पर्न सकेनन् । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका प्रशान्त लक्सम घोषित भए ।
उनले नगद १० हजार प्राप्त गरे । राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत्र ४ गतेबाट सुरु भएको प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सोमबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले पाहुना टोली भारतको कञ्चनजंघा एफसीसंग प्रतिस्पर्धा गर्दैछ ।
खेलपछि प्रतिक्रिया दिँदै राष्ट्रिय जागृतिका अफिसियल सजिवन राईले पहिलो गोल व्यहोरेपछि टिम दबाबमा परेको बताए । उनले गोलरक्षकको गल्तीबाट पहिलो गोल व्यहोर्नु नै पराजयको मुख्य कारण भएको बताए । एक महिनाको तयारीबाट टिमले उत्कृष्ट खेल देखाएको उनले बताए ।
यता चर्च ब्वाइजका प्रशिक्षक प्रदिप हुमागाईले लिगको निरन्तर खेलका कारण खेलाडीहरु थकित भएकाले पाएको अवसरहरु सदुपयोग हुन नसकेको बताए । उनले खेलमैदानको अनुभव नभएको कारण पनि पाएको अवसरलाई गोलमा परिणत गर्न नसकेको बताए । उनले खेलमा देखिएका कमजोरीलाई आगामी खेलमा सुधार गर्ने बताए ।