फिक्कल । कट्टेबुङ फुटबल च्यालेन्ज कप २०७९ को पहिलो दिनको खेलमा बुट्टाबारी र पापा सेभेन बिजयी भएका छन् । प्रतियोगिताको उद्धघाटन खेलमा आयोजकलाई सडनडेथमा हराउँदै बुट्टाबारीले बिजयी सुरुवात गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा बुट्टाबारी बिजयी भएको हो ।
बुट्टाबारीले फागुन २९ गते कुटिडाँडा एफसीसंग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी दोश्रो खेलमा नोर्लिङ टी पान्दामलाई हराउँदै पापा सेभेनले समेत दोश्रो चरणमा स्थान बनाएको छ । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । पापा सेभेनले फागुन २९ गते पाहुना टोली डाइनोमो दार्जिलिङसंग प्रतिस्पर्धा गर्नेछ ।
पूर्व क्षितिज क्लब, नव ज्योति क्लब, एफ एस समाज, सृजना समाज र कट्टेबुङ युवा खेलकुद समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको कोशी प्रदेशको पुर्व पर्यटनमन्त्री एवम प्रदेश सांसद खिनु लङ्वा लिम्बुले उद्धघाटन गरिन् । आयोजक समितिका अध्यक्ष प्रमोद गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद लङ्वा, सूर्योदय नगरपालिका–३ का वडाध्यक्ष लोकबहादुर प्रधान र जिल्ला फुटबल संघका निवर्तमान उपाध्यक्ष मणी गुरुङले मन्तव्य राखेका थिए ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १० हजार र उपविजेताले ५५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा इलामका ३४ सहित झापा र भारतका १÷१ टोली सहभागी छन् ।