सूर्योदय । इलामको सूर्योदय नगरपालिकामा व्यवसायीक गाई पालन हुँदै आएको छ । यहाँका धेरै किसान गाईको दूध उत्पादन गरि आफ्नो परिवार पालन गर्दै आएका छन् । तर गाई बिरामी हुँदा जाँच गर्ने उपकरणहरु नहुँदा किसानले आफ्ना गाईको राम्रोसँग उपचार पाएका छैनन् ।
सूर्योदय नगरपालिकाको १४ वटै वडामा किसानले पशुपालन गर्दै आएका छन् । गाईको रोग पत्ता लगाउन गोबर जाँच गर्ने मेसिन आवश्यक पर्ने भएपनि सूर्योदय नगरपालिकामा गोबर जाँच गर्ने मेसिनको अभाव रहेको हो ।
गाईमा धरैजसो पेटको रोगबाट मर्ने गरेका छन् । पेटको समस्या गोबर जाँच गर्दा र भिडियो एक्सरे मेसिनबाट पत्ता लगाउन सकिन्छ । ल्याबको व्यवस्थापनका लागि अहिलेसम्म कुनै निर्णय नभएकाले गोबर जाँचको काम नभएको सूर्योदय नगरपालिका पशु प्राविधिक विपिन सिहले बताए ।
ल्याब व्यवस्थापनका लागि २ वटा कोठा आवश्यक पर्छ–उनले भने–‘ ल्याब संचालनका लागि २ जना कर्मचारी पनि आवश्यक पर्छ ।’ कर्मचारी र ल्याब अफिसको व्यवस्था भए संचालनका लागि आवश्यक उपकरण २÷३ लाखमा आउने उनले भने । रगत जाँचका लागि आवश्यक उपकरण भने धेरै खर्चालु हुने उनले बताए ।