इलाम : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापाबिच प्रतिस्पर्धा हुने भएको छ । धरान रंगशालामा जारी प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० अन्तरले हराउँदै एभिनियरले केएफटिसी प्रतिद्धन्दी पाएको हो ।
खेलको ४५ औ मिनेटमा डिम्बाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । खेलको ८५ औ मिनेटमा मोरङले आत्मघाती गोल गरेपछि एभिनियर फाइनल प्रवेश गरेको हो । सुजन चौधरीले आत्मघाती गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद १० हजार पाए ।
एभिनियरले उपाधिका लागि शनिवार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगिताको बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया पाउनेछन् ।