Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धन सम्बन्धि योजना तयारी अभिमुखीकरण माईमा सम्पन्न

पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धन सम्बन्धि योजना तयारी अभिमुखीकरण माईमा सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन १६ २०७९


पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धन सम्बन्धि योजना तयारी अभिमुखीकरण माईमा सम्पन्न

माई । पालिकास्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धनका लागी योजना तयारी अभिमुखीकरण माई नगरपालिका इलाममा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय इलामको आयोजनामा भएको गोष्ठीमा बोल्दै माई नगरपालिकाका नगर प्रमुख खम्बा सिं लिम्बुले बालबालिकालाई पूर्ण मात्रामा खोप लगाई नगरलाई पूर्ण खोप सुनिश्चितता गर्न तथा गुणस्तरिय सेवा प्रदानका लागी सवै स्वास्थ्यका कर्मचारी सचेत भएर लाग्न आग्रह गरे ।

उनले स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यकर्मीले अगुवाइ गर्नुपर्ने बताए । बालबालिका स्वास्थ्य नभए सवै क्षेत्र कमजोर हुने बताउँदै लिम्बुले स्थानीय सरकार समेत स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको जानकारी दिए। लिम्बुले स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरियताका लागी विभिन्न योजना सहित बजेट विनियोजन गरिएको बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय इलामका प्रमुख डाक्टर आदित्य शाक्यले स्थानीय तहले स्वास्थ्यलाई विकासको विषयलाई प्राथमिकता दिनु पर्ने बताए। उनले हरेक पालिका र वडाले स्वास्थ्यलाई समेट्ने गरि कार्यक्रम निर्माण गर्न आवश्यक रहेको बताए। पालिका र जिल्ला पुर्णखोप घोषणा भएपनि कार्यान्वयन प्रक्रिया कमजोर भएकोले सबै मिलेर कार्यान्वयनमा लाग्नु पर्ने उनले जोड दिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर निरीक्षक गंगाधर पण्डितले खोपको अवस्था , खोपको महत्व , पूर्ण खोप कार्यक्रमको उद्देश्य , पूर्ण खोप सुनिश्चितता घोषणाको प्रक्रिया लगाएतका विषयमा सहजिकरण गरेका थिए । यस्तै माई नगरपालिका प्रमुख प्रशासनिक अधिकृत गणेश अधिकारीले स्वास्थ्यकर्मीले भरखरै जन्मिएको देखि १५ महिना र १६ देखि ५९ महिना सम्मको बालबच्चाको अबस्थाको तथ्यांक संकलन गरी कार्ययोजना निर्माण गर्न, थप खोप केन्द्र चाहिने नचाहिने एकिन गर्न र नगरको थप सहयोग आवश्यक हो होइन निर्णय गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिए ।

माई नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुष्कर कट्टेलले नगरपालिका भित्र खोपको अवस्थाको बारेमा जानकारी गराउदै अभिलेखमा खोपको पहुँच कम देखिए पनि सवैले खोप पाएको बताए उनले पछिल्लो दुई बर्षको अवधिमा नगरका अधिकतम जनता खोपको पहुँचमा रहेको तथ्याङ्क सार्वजनिक गरे । प्रमुख कट्टेलले तथ्याङमा अभिलेख नराखेका कारण कम प्रतिशत खोपमा पहुँच देखिएको समेत स्पष्ट पारे ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितताका लागि सवै वडामा आगामी असार महिना भित्र घर घरमा पुगेर छुटेका बालबालिका भेटिएमा खोपको पहुँच सम्म पुर्याउने निर्णय गरिएको छ । माई नगरपालिकाको सभाहलमा भएको गोष्ठिमा वडाध्यक्ष , कार्यपालिका सदस्य , स्वास्थ्यकर्मी, स्वास्थ्य शाखाका कर्मचारी , स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख डाक्टर आदित्य शाक्यको अध्यक्षतामा भएको गोष्ठी माई नगरपालिकाका नगर प्रमुख खम्बा सिं लिम्बुको प्रमुख आतिथ्यता र स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार