Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पाटेनागीमा पर्यटकको आकर्षण बढ्दै (फोटो पिचर)

पाटेनागीमा पर्यटकको आकर्षण बढ्दै (फोटो पिचर)

  • सुजन तिमल्सिना
  • बिहिबार, फाल्गुन ११ २०७९


पाटेनागीमा पर्यटकको आकर्षण बढ्दै (फोटो पिचर)

पाटेनागी । इलाम नगरपालिका ३ पुवामझुवाको पाटेनागीमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रक्सेको बागखोर बजारबाट पाटेनागीसम्म पुग्ने ६ किलोमिटर कच्ची मोटरबाटो र पदमार्ग निर्माण भएपछि पर्यटकको आकर्षण बढेको हो ।
धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि महत्त्वपूर्ण मानिएको इलामको पाटेनागी कुहिभिर हुँदै पुग्न सकिन्छ । सडक नबन्दासम्म पाटेनागी पुग्न चार घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो, अहिले सडक निर्माण भएपछि आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।


पूर्वाधार निर्माणपछि पर्यटनका लागि मनोरञ्जनको एक मुख्य केन्द्रविन्दु बन्ने पाटेनागी लगानीको अभावमा चर्चामा आएको छ । सडक पुगेपछि अब पर्यटकका लागि यात्रा सहज भएको र पूर्वाधार निर्माण भएपछि पर्यटक आवतजावत बढेको नगर प्रमुख केदार थापाले बताए ।

‘यस क्षेत्रबाट विभिन्न ठाउँका रमणीय दृश्य देख्न पाइन्छ, विभिन्न जातका गुराँस पाइन्छ, घना जङ्गल रहेकाले विभिन्न प्रजातिका जडीबुटी पाइन्छ । सूर्योदयको दृश्यका साथै रेडपाण्डाको समेत अवलोकन गर्न पाइने भएकाले यस क्षेत्रमा नगरपालिकाले लगानी बढाउने योजना रहेको इलाम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश बहादूर खड्काले बताए ।  समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको यस क्षेत्रबाट चाँदी झैँ टल्किएका हिमालको दृश्य नियाल्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मजा लिन सकिन्छ ।

यहाँबाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घालगायतका हिमाल देख्न सकिन्छ । प्रदेश १ का धेरै जिल्लाका रमणीय भू–भाग नियाल्न सकिन्छ । यस क्षेत्रमा रेडपाण्डा पाइन्छ । विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकनका लागि पनि यो ठाउँ महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् । यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायत खोलाहरूको उद्गमस्थल मानिन्छ । यहाँ नागढुङ्गा छ । त्यसैले यो क्षेत्र धार्मिक हिसाबले समेत अब्बल छ । गाईवस्तुले दूध दिएन भने नागढुङ्गामा पूजा गर्दा गोठ सप्रने र गाईले दूध दिने धार्मिक विश्वास रहिआएको छ।

नागढुङ्गामा नाग, शङ्खलगायतका विभिन्न आकृति देख्न सकिने गुरुङको भनाइ छ । यस क्षेत्रमा १२ प्रजातिका गुराँस पाइन्छन् । पाटेनागीमा घना गुराँसे जङ्गल रहेकाले चैत वैशाखको समयमा जङ्गल नै राताम्मे भएको दृश्य देख्न पाइन्छ ।

पुवामझुवाको पाटेनागीदेखि गोर्खेको मानेभञ्ज्याङसम्म गुराँसको जङ्गल छ । फरक–फरक रङ्गमा फुलेका गुराँसले जता हेर्‍यो त्यतै राताम्मे भएको दृश्यको अवलोकन गरी पर्यटकले मजा लिन सक्नेछ । इलामको इलाम नगरपालिकाको सदरमुकामबाट ४० किलोमिटर टाडा र बागखोर बजारबाट ६ किलोमिटरको यात्रापछि पाटेनागी पुग्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार