Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

चुलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

  • अनिल लावती
  • सोमबार, फाल्गुन ८ २०७९


चुलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ५ मा सम्पन्न भएको छ । गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुआत गरिएको र पालिकाभरी नै आयोजना हुने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।

चुलाचुली गाउँपालिकाले गाउँकार्यपालिकाको कार्यालय सहित सबै वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम यो वर्ष गर्नेछ । पहिलो कार्यक्रम अन्तगत सोमबार वडा नम्बर ५ स्थित आँपझोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्गले बताए । वडा कार्यालयको प्राङ्गणमा सार्वजनीक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । अन्य वडाहरुको पनि सम्बन्धित वडा कार्यालयमा संचालन गर्ने पालिकाको योजना छ । सार्वजनीक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले गर्दै आएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गर्न लागिएको गाउँपालिका उपाध्यक्ष दिलु लावतीले बताइन् । सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ ।

सार्वजनीक सुनुवाईमा गाउँपालिकाकाबाट चालु आर्थिक वर्षमा भएका विकास निर्माणका कामका बारेमा जानकारी गराउनुका साथै चुलाचुली पालिकाबासीको सेवा प्रभावमा देखिएका सुझावहरु संकलन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार