Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पहिरोले फिक्कल स्वास्थ्य केन्द्रका भवन तानेपनि नियन्त्रणमा पहल भएन

पहिरोले फिक्कल स्वास्थ्य केन्द्रका भवन तानेपनि नियन्त्रणमा पहल भएन

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ९ २०७४


पहिरोले फिक्कल स्वास्थ्य केन्द्रका भवन तानेपनि नियन्त्रणमा पहल भएन

इलाम । पुर्वी इलामका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलको भवन पहिरोले तानेको ६ महिना बितेपनि मर्मतको पहल भएको छैन । तीन स्थानीय तहका ८० हजार बढी जनसंख्यालाई स्वास्थ्य सेवा दिँदै आएको स्वास्थ्य केन्द्रको भवन छेउमा २०७४ साउन २७ गते पहिरो गएको थियो ।
स्वास्थ्यकर्मी बस्दै आएको आवास भवनको जगबाट गएको पहिरो नियन्त्रण नहुँदा बिरामी उपचार गरिदै आएको मुख्य भवन समेत जोखिममा परेको छ । पहिरोले स्वास्थ्य केन्द्रको क्वाटर भवनको जगनै तानेपछि पानी परेका बेला स्वास्थ्यकर्मी नबस्दा आकस्मिक उपचार प्रभावित हुने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कुसल वस्तिले बताउनुभयो ।
केन्द्रको ठेसवाल समेत क्षति पुर्याएको पहिरो नियन्त्रणका लागी स्वास्थ्य मन्त्रालयका ३ वटा टोली अनुगमनका लागी आएपनि अहिलेसम्म काम सुरु नभएपछि स्वास्थ्यकर्मीहरु चिन्तित भएका छन् । पहिरोको निरिक्षण गर्नुभएकी स्वास्थ्य मन्त्रालयको निमित्त सचिव डा पुष्पा चौधरीले नियन्त्रणका लागि पहल गरिरहेको र बजेटका लागि अर्थ मन्त्रालयमा पहल भइरहेको बताउनुभयो ।


पहिरो नियन्त्रण गर्न प्राविधिक टोलीले समेत आएर निरिक्षण गर्दा २ करोड खर्च लाग्ने अनुमान गरेको छ । पोहिरो गएपछि गत वर्षातका बेला स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले आवास गृह छोडेर बाहिर बस्दै आएका थिए । जसका कारण स्वास्थ्य सेवा प्रभावित भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा सूर्योदय नगरपालिका, माई जोगमाई गाउँपालिका, रोङ गाउँपालिका क्षेत्रका स्थानीय बासिन्दाले उपचार सेवा लिँदै आएका छन् । दैनिक दूई सय ५० बिरामीको उपचार हुँदै आएको स्वास्थ्य केन्द्रमा तीन जना डाक्टर र स्वास्थ्यकर्मी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार