फिक्कल । इलामको पर्यटकीय गन्तव्य श्रीअन्तुमा ३९ करोडको खानेपानी आयोजना निर्माण हुने भएको छ । सूर्योदय नगरपालिका –४ र ५ पर्यटकीय बडाहरू भएपनि खानेपानी समस्याका कारण पर्यटक र व्यवसायीहरुले समस्या भोग्दै आएका छन् । खानेपानीको समस्या समाधानका लागि योजना अघि बढाइएको नगर प्रमुख रणबहादुर राईले जनाए ।
केहि समय अघिसम्म नजिकैको सानो खोलाको पानी लिफ्टिङ गरेपनि पर्याप्त थिएन् । नगरसभाले २ वडालाई सुख्खा क्षेत्र घोषणा गरीे सिद्धी खोलाको पानी ल्याउन संघीय सरकारसित समन्वय गरेको थियो । संघीय खानेपानी कार्यालयसंगको दक्षता र पुर्व प्रधानमन्त्री झलनाथ खनालको समन्वयमा बजेट विनियोजना गरेर कार्य अघि बढेको राईले बताए ।

‘केहि दिन अघाडि निर्माण हुँदै गरेको ठाउमा पुग्दा निर्माण धमाधम भइरहेको पाइएको छ । स्थानीय सरोकारवालाहरुले आफ्नो ठाउँमा राम्रो भुमिका निर्वाह गरिरहनुभएको पाइएको छ ।’ राईले भने ‘खानेपानी आयोजना सम्पन्न भएपछि पर्यटन प्रवद्धनको निम्ति मात्रै नभएर ठाउँलाई सफा राख्न, भौतिक पूर्वाधारको कामलाई व्यवस्थित गर्न, व्यवसायी लगानीलाई मितव्ययी बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने छ ।’
खानेपानी समस्याका कारण पर्यटन व्यवसायीहरु प्रत्येक दिन किनेर चलाउने गरेका छन् । निर्माण कार्यस्थलमा नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल लगायतले अनुमगन गर्दै काम सन्तोषजनक रहेको जनाए ।