फिक्कल । सुर्योदय नगरपालिकामा सम्पन्न ५ औ साङगे लामा योल्मु मेमोरियल रनिङ सिल्भर कपको उपाधी आयोजकले जितेको छ । सुन्दरपानी खेलमैदानमा सम्पन्न फाइनलमा भेनस एफसी सुन्दरपानीको चुनौती २–० पन्छाउदै आयोजक मिलियन फ्रेन्डस क्लबले उपाधी हात पारेको हो ।
बिजेताले नगद ५५ हजार सहित २९ तोलाको चादीको कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेताले नगद ३५ हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेश्रो स्थान प्राप्त गर्ने तिनघरे एफसीले नगद १० हजार प्राप्त गर्यो । आयोजकको लागी दोश्रो हाफको २५ औ मिनेटमा उमेश राईले अग्रता दिलाएका थिए ।

पहिलो गोल भएको १ मिनेट नवित्दै लकेन लिम्बुले अग्रता दोव्वर बनाए । त्यसपछि खेलमा दुवै पक्षबाट गोल हुन नसक्दा आयोजकले उपाधी रक्षा गरेको हो । मंसिर ९ गतेबाट जारी प्रतियोगितामा भारतका २ टिम सहित इलाम र झापाका २८ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भेनस एफसीका रजिन माझी घोषित भए । सर्वाधिक गोलकर्ता भेनसकै अरुण श्रेष्ठ, उत्कृष्ट गोलरक्षक आयोजकका विनोद क्षेत्री, उदियमान खेलाडी सल्लेरीका मौसम राई र अनुशासित टिम नवज्योती झापाले प्राप्त गर्यो ।

स्वर्गिय साङगे लामाको स्मृतीमा २०७० साल देखी मिलियन फ्रेन्डस क्लबले प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । प्रतियोगिताको सहआयोजक स्माइल युवा क्लब, न्यु जेनेरेसन स्टार क्लब र गोर्खा टि स्टेट रहेका थिए । जय राईको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथी सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई रहेका थिए ।

अतिथीहरुमा जिल्ला फुटबल संघका अध्यक्ष निरोज खडगी, बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामा, सुर्योदय–९ का वडाध्यक्ष देवेन्द्र शर्मा, वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामा, कमल गदाल, दिपेश गुरुङ लगायत रहेका थिए । प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप राखिएको चाँदी जडित ट्रफी लगातार २ पटक प्रतियोगिताको उपाधी जिते आफनो बनाउन सक्ने आयोजक समितीका अध्यक्ष जय राईले बताए ।