इलाम । १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक बिजेता इलामकी जुनी राई सहित ३ खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको आईडब्लूयूएफ एथलिट अफ द इयर २०२२ को विभिन्न विधाको मनोनयमा परेका छन् । जुनी सहित दिपक हमाल र एलिस मरिक मनोनयनमा परेका हुन् ।
सन् २०१९ मा काठमाण्डौमा भएको १३ औं सागकी स्वर्ण पदक विजेता जुनी उसुको सान्डातर्फ एथलिट अफ दि एयरको मनोनयमा परेकी हुन् । जुनीसहित भारत, चीन, फ्रान्स र हङकङका खेलाडी सो विधामा मनोनयमा परेका छन् । १३ औं सागमा स्वर्ण जितेका दीपक उसुको थाउलो एथलिट अफ दि इयरको मनोनयमा परेका हुन् ।
न्यूजिल्यान्ड, इजिप्ट, चिनलगायतका १० खेलाडी सो विधाको मनोनयमा परेका छन् । एलिसले गत डिसेम्बरमा इन्डोनेसियामा जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । उनी उसुको थाउलोतर्फ राइजिङ स्टार अफ दि इयरको मनोयनमा परेको आइडब्लूयूएफको वेभसाइडमा उल्लेख गरिएको छ ।
एलिससँगै सो विधामा न्यूजिल्यान्ड, चीन, इटाली, फ्रान्स र दक्षिण कोरियाका खेलाडी मनोनयमा परेका छन् । जुनी नेपाल पुलिस क्लब, दिपकले कर्णाली र एलिस प्रदेश १ बाट राष्ट्रिय प्रतियोगिता खेल्छन् । आईडब्लूयूएफको वेबसाइटमा गएर फेब्रुअरी १८ सम्म उनीहरुलाई भोट गर्न सकिन्छ ।