फाकफोकथुम : मौलिक कला संस्कृति जगेर्ना गर्न इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका युवाहरु एकजुट भएका छन् । बिभिन्न जातजातिहरूको मौलिक कला संस्कृति तथा बाजागाजा लोप हुँदै गएपछि युवा पुस्ता संरक्षणको लागि जागरुक भएका हुन् । मगर युवाहरुले छेलो हान्ने नौमती बाजा युवा समुह गठन गरेका छन् ।
समुहका सदस्य युवक दर्लामीले लोप हुँदै गएको परम्परागत नौमती बाजालाई संरक्षण गरि आगामी पिडिहरुलाई मौलिक संस्कृति तर्फ आर्कषित गर्न एकजुट भएको बताए । बिभिन्न जातजातिहरूको भोज भतेर तथा शुभ विवाह तथा शुभकार्यमा अनिवार्य बाजागाजाको आवश्यकताका साथै मौलिकताका कला संस्कृति संरक्षण हुने उनले विश्वास लिए ।

नौमती बाजागाजा कुनै शुभकार्य बजाउनु परेमा दुरी अनुसार प्रतिदिनको दश हजार देखि चौबिस हजार सम्म लिने गरेको उनी बताउँछन् । फुएतप्पाको लिम्बु गाउँका युवाहरूले आफ्नौ मौलिकता झल्काउने बाजागाजा जोगाइराख्न थोक फेला युवा संस्था र फुङ्वा युवा समूह गठन गरि च्याब्रुङ संरक्षणमा लागेका छन् ।
हालसम्म बाह्रवटा च्याब्रुङ बाजा खरीद तथा आफैले तयार पारेको थोक फेला संस्थाका सल्लाहकार चन्द्र बहादुर जवेगु बताउँछन् । आधुनिक गीत संगीतले मौलिक बाजाहरुलाई विस्थापित गर्दै गएकाले आगामी पुस्तालाई परम्परागत कला संस्कृति र बाजागाजाको बारेमा जानकारी गराउने उद्धेश्य राखिएको फुङ्वा युवा समूह अध्यक्ष फुर्सद लिम्बु बताउँछन् ।
युवाहरुको सक्रियताका कारण आजकाल गाउँघरमा हुने शुभविवाह तथा शुभकार्यमा नौमती बाजा र च्याब्रुङ ( केलाङ्ग) प्रयोग हुन् थालेको छ । फुएतप्पाकै एउटा विवाह समारोहमा गाउँपालका अध्यक्ष दिपेन्द्र खनाल रैथाने बाजा च्याब्रुङ (केलाङ्ग) बजाउँदै संस्कृति संरक्षणमा समेत सहभागि भएका थिए ।
