इलाम । स्थानीय तहमा वैंक नहुदा समस्या देखिएको छ । सदरमुकाम लगायत केहि बजार क्षेत्रमा नीजि र सरकारी वैंकले सेवा दिए पनि ग्रामिण क्षेत्रका स्थानीय तहमा वैंक पुग्न सकेका छैनन् । जिल्लाका पश्चिमी, उत्तरी र दक्षिणी क्षेत्रका स्थानीय तहहरुमा कुनै पनि वैंक नभएकाले कामकाजका लागि सदरमकाम धाउनु पर्ने वाध्यता भएको हो । स्थानीय तहको निर्वाचन लगत्तै केहि निजी वैंकले आफूलाई पायक पर्ने स्थानमा वैंक खोल्न पहल थाले पनि अहिलेसम्म सेवा दिन सकेका छैनन् ।
इलाम, सूर्योदय र देउमाई नगरपालिकामा निजि तथा सरकारी बैंकका शाखाहरु दर्जन बढिको हाराहारीमा स्थापित छन् । यी क्षेत्रमा अझै पनि नयाँ वैंक खुल्ने क्रम रोकिएको छैन । तर ग्रामिण क्षेत्रमा भने अझै पनि वैंकहरुले शाखा विस्तारका लागि उति ध्यान नदिएको स्थानीयको भनाई छ ।
राष्ट्र वैंकले सवै स्थानीय तहमा अनिवार्य वैंक खोल्नु पर्ने व्यवस्था गरेको छ । अधिकांश कारोवार वैंक मार्फत गर्नुपर्ने भएका कारण सर्वसाधारण कर्मचारी र जनप्रतिनिधिलाई समस्या भएको हो ।
स्थानीय तहको निर्वाचनपछि धेरै सेवाहरु गाउँमा आएपनि कारोबारका लागी सदरमुकामलगायतका वैंक धाउनु पर्ने बाध्यता रहेको माङसेवुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले वताए । जिल्लाकै विकट मानिने यो गाउँपालिकामा ठूलो बजार क्षेत्रमा नभएका कारण पनि यस अघि वैंकले शाखा विस्तार गरेका थिएनन् । यहाँका अधिकांश बासिन्दाले सदरमुकाम, देउमाई नगरपालिकाको मंगलवारे र झापाका वैंकमार्फत कारोबार गर्दै आएका छन् ।
उत्तरी क्षेत्रमा रहेको सन्दकपुर गाउँपालिकामा उस्तै समस्या छ । विगतमा वाणिज्य वैंकले सुलुवुङको देउरालीमा रहेर सेवा प्रदान गरे पनि द्वन्द ताका वैंक विस्थापित भएको थियो । शान्ति प्रकृयासँगै पुर्नस्थापना भए पनि बाणिज्य वैंकले सदरमुकामवाट सेवा दिन थालेपछि त्यहाँको एक मात्र सरकारी वैंक अस्तित्व सकिएको हो ।
नगर क्षेत्रमा पनि पछि थपिएका ग्रँमिण भेगका बासिन्दालाई वैंकसम्म पुग्न दिन माया मार्नु पर्ने अवस्था कायम नै छ । ठूलो संख्यामा वैदेशिक रोजगारीमा ग्रँमिण क्षेत्रका बासिन्दा जाने र नगदेवाली उत्पादनवाट पनि आयस्तर धेरै भएका गाउँका बासिन्दालाई बैंकको अभाव खड्किएको हो । विदेशवाट पठाएको पैशा लिनसँगै अधिकांश वैकिङ कारोवार गर्न टाढा धाउनु पर्ने भएकाले स्थानीयले चाहेर पनि सवै कारोबार वैंकवाट गर्न सकेका छैनन् ।
सदरमुकाममा नेपाल वैंक, वाणिज्य वैंक र कृषि विकास वैंकसहित आधा दर्जन नीजि वैंकले सेवा दिँदै आएका छन् ।