सन्दकपुर : उदय चक्र माघे संक्रान्ति खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि हेलिबोथ एफसी र सामुदायिक परोपकार संघ सोयाङले जितेको छ । सन्दकपुर गाउँपालिका—३ टारीमा सम्पन्न प्रतियोगिताको खुल्ला नकाउट तर्फ हेलिोबोथले एलएफसी जमुनालाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टोलीले २—२ गोल गरेका थिए । बिजेता भएसंगै हेलिबोथले नगद ३६ हजार ३६ र उपविजेता एलएफसीले २१ हजार २१ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भेट्रान तर्फ सोयाङले भेट्रान खेल संघ देउरालीलाई २—१ गोल अन्तरले हराएको हो ।
निर्धारित समयमा १—१ गोल बराबरी भएको खेलको अतिरिक्त समयमा गोल गर्दै उपाधि जितेको हो । बिजेता सोयाङले नगद १० हजार र उपबिजेता देउरालीले ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी जमुनाका पेम्वा तामाङ, सर्वाधिक गोलकर्ता ड्रिम्स एफसीका सन्तोष तामाङ, उत्कृष्ट गोलरक्षक हेलिबोथका पुष्प लिम्बु र उदियमान खेलाडी टारी एफसीका रोहित साउदेन घोषित भए ।
उनीहरुले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । टारी फुटबल क्ल्बका अध्यक्ष महेन्द्र साउदेनको अध्यक्षतामा भएको समापन कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको प्रमुख आतिथ्यता र उपाध्यक्ष हरि लुङ्गेलीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । गत पुष २३ गतेबाट संचालन भएको प्रतियोगितामा इलामका ३८ टिमको सहभागिता रहेको थियो ।