Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

विराट गोल्डकप : चैत ६ मा शुरु गर्ने आयोजकको तयारी

विराट गोल्डकप : चैत ६ मा शुरु गर्ने आयोजकको तयारी

  • लोकल सन्देश
  • मंगलबार, पौस २६ २०७९


विराट गोल्डकप : चैत ६ मा शुरु गर्ने आयोजकको तयारी

इलाम : विराट गोल्डकप ट्रष्टले आगामी चैत ६ गते छैटौं संस्करणको विराट गोल्डकप आयोजना गर्ने जनाएको छ। ट्रष्टले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। चैत १४ गतेसम्म हुने प्रतियोगिताको मुख्य संयोजकको रुपमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहने ट्रष्टले जनाएको छ। प्रदेश १ को एकमात्र रात्रिकालीन फुटबल प्रतियोगिताको पहिचान बनाएको गोल्डकपमा अन्तरराष्ट्रियसहित ८ टोलीको सहभागिता रहने जनाइएको छ।

विराटनगरस्थित शहीद रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशीमा वृद्धिसमेत गरिएको छ। २०७८ वैशाखमा सम्पन्न पाँचौँ सस्करण विजेता एपिएफले १५ लाख र उपविजेता पञ्जाब पुलिस क्लब भारतले ७ लाख ५० हजार नगद पुरस्कार पाएका थिए। महेन्द्र गोल्डकपका नाममा २०१८ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६२/६३ को राजनीतिक परिवर्तनपछि २०६७ बाट विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ।

गोल्डकप ट्रष्टले प्रतियोगिताको मिति सार्वजनिक गरे पनि एन्फाले आयोजनाको लागि विराट गोल्डकपलाई मिति दिएको छैन। एन्फा महासचिव किरण राईका अनुसार केही गोल्डकप प्रतियोगिताले चैतको दोश्रो सातासम्म सम्पन्न गर्ने मिति मागेका छन्। तर एन्फाले अहिलेसम्म कसलाई आयोजना बारेमा अनुमति दिने भनेर निर्णय गरेको छैन।

‘केही गोल्डकप आयोजकले प्रतियोगिताको लागि चैतको मध्यसम्मको मिति मागेर निवेदन दिनुभएको छ। हामीले कसलाई दिने भन्ने निर्णय गरेका छैनौं। केही दिनभित्र आयोजना क–कसलाई दिने भन्ने बारेमा निर्णयमा पुग्छौं‚’ उनले भने‚ ‘शहीद स्मारक लिगलाई केही दिन स्थगित गरेर पनि मोफसलको फुटबल चलायमान बनाउने पक्षमा छौं। केही मुख्य प्रतियोगिता आयोजना हुन्छ तर कुन कुन प्रतियोगिता भन्ने बारेमा अहिले भन्न सकिएन।’

प्राप्त जानकारीअनुसार विराटले मागेको मितिमा प्रतियोगिता आयोजनाका लागि इलामको माई भ्याली गोल्डकप, बाराको सिमरा गोल्डकपसहित केही प्रतियोगिता आयोजकले एन्फामा निवेदन दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार