इलाम : १३औँ पवित्रहाङमा कप खेलकुद प्रतियोगिता आगामी माघ २३ गतेबाट सुरु हुने भएको छ। किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवको अवसरमा हरेक बर्ष माङ्सेबुङ गाउँपालिका–५ लारुम्बामा आयोजना हुँदै आएको प्रतियोगिता यस वर्षसमेत संचालन हुने भएको हो। धर्मगुरु आमाको ६७ औ जन्मोत्सवको अवसरमा आयोजना हुने प्रतियोगिताको मुख्य आकर्षणको रुपमा महिला गोल्डकप रहेको छ।
जिल्लामा निरन्तरता पाएको एक मात्र महिला फुटबलको रुपमा पवित्रहाङमा कप रहेको छ। जहाँ विभिन्न टिमबाट राष्ट्रिय स्तरका प्रतिनिधित्व गरेका खेलाडीहरु समेत देख्न सकिन्छ। आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, उदयपुर, सुनसरी, ताप्लेजुङ, धनकुटा, मोरङका साथै दार्जिलिङको टिमको समेत सहभागिता हुनेछ।
८ टोलीले सहभागिता जनाउँदै आएको महिला फुटबलमा गत संस्करणबाट १० टोली बनाइएको थियो। प्रतियोगितामा इलामको माङ्सेबुङ गाउँपालिका र जनता सेभेन सहभागि हुँदैछन्। झापाबाट रोयल स्र्पोटिङ क्लब दमक र कन्काई नगर खेलकुद प्रतिष्ठान, सुनसरीको माउन्ट एभरेष्ट स्र्पोटिङ क्लब धरान, ताप्लेजुङको कर्णसिंह सोनाम एफसी, धनकुटा जिल्ला फुटबल संघ, मोरङको नवदिप युवा क्लब मिक्लाजुङ र पाहुना टोली भारतको एमएफसी दार्जिलिङले सहभागिता जनाउने छन्।
आत्मानन्द रंगशालामा हुने प्रतियोगिताको बिजेताले २ लाख १६७ र उपविजेताले १ लाख १६७ प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल फागुन ३ गते हुनेछ । अघिल्लो संस्करणको तुलनामा आयोजकले पुरस्कार राशीमा समेत बृद्धि गरेका छन्। १२ औ संस्करणको बिजेता बनेको एपिएफसी माङसेबुङले १ लाख ११ हजार १६६ र उपविजेता माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले ६६ हजार १६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।
इलामको माङसेबुङमा पवित्रहाङमा महिला कप २०६७ यता हरेक वर्ष साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ।