इलाम । भारतीय आई लिग खेल्न नेपाली राष्ट्रिय महिला टोलीका ३ जना सदस्य भारत प्रस्थान गरेका छन् । राष्ट्रिय महिला टोलीकी गोलरक्षक एवम कप्तान एन्जिला तुम्बापो सुब्बा सहित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र डिफेन्डर गीता राना भारत अहिले साँझ भारत प्रस्थान गरेका हुन् । एन्जिला र गीता सेथु एफसीसंग आवद्ध रहँदा सावित्रा गोकुलम केरलाबाट खेल्नेछिन् ।
आईलिगमा उनको यो तेश्रो सिजन हो । यसअघि सावित्रा र अनिता बस्नेतले २०१८–१९ को सिजन सेथु एफसीबाटै खेलेका थिए । उनीहरुकै प्रर्दशनका आधारमा क्लबले भारतीय वुमन्स लिगको उपाधि जितेको थियो । सावित्राले २०१९–२० को सिजन गोकुलम केरलाबाट खेल्दै उपाधि जिताएकी थिइन् । एन्जिला र गीता पहिलो पटक महिला आईलिग खेल्न लागेका हुन् ।
भारत प्रस्थान गर्नु अघि एन्जिलाले आई लिगमा खेल्ने अवसरले आफुलाई थप अनुभवी बनाउने बताइन् । ‘पहिलो पटक आई लिग खेल्नका लागि भारत जाँदै छौ । अझै अनुभवको कमी छ । आईलिगको अनुभव महत्वपुर्ण हुन्छ भन्ने लागेको छ ।’ उनले भनिन् ‘ आई लिग खेलेर आएपछि सिकेका नयाँ कुरा नेपाली फुटबलमा प्रयोग गर्नेमा विश्वस्त छु । ’