मातृका बराल रोङ गाँउपालिका ३ नम्वर वडाका वडाध्यक्ष हुन । २०२७ सालमा रोङ गाँउपालिका– ३ साविकको कोल्वुङ–५ मार्सेमा बाबु नित्यानन्द बराल र आमा पवित्रा बरालको कोखबाट जन्मिएका उनी नेपाली कांग्रेसको तर्फबाट गत असार १४ गतेको स्थानिय तहको विजयी बन्दै वडाध्यक्ष बनेका हुन । नेपाल विद्यार्थी संघबाट राजनितिक यात्रा सुरु गरेको बराल २०५२ सालमा मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्ववियु सदस्य पदमा समेत निर्वाचित भएका थिए । उनी पुर्वको धार्मिक एवम पर्यटकियस्थल पाथिभरा मन्दिर संरक्षण समितीको सचिव पदमा समेत कार्यरत छन । उनै बरालसंग समसामयिक बिषयमा गरिएको कुराकानी :
सामाजिक क्षेत्रमा प्रवेश कसरी गर्नुभयो ?
पहिला देखी नै सामाजिक रुपमा काम गर्दै आएको हु । सुरुमा कुटिडाँडा खानेपानी उपभोक्ता समितीमा लामो समसम्म काम गरे । त्यसपछि विद्यालय व्यवस्थापन समितीमा काम गरे । गाँउका विभिन्न सामाजिक संस्थाहरुमा काम गर्दै २०६५ सालदेखी पाथिभरा मन्दिर संरक्षण समितीको सचिव पदमा पाथिभरा मन्दिर सम्हालेको छु । अहिले पनि कार्यरत रहेपनि जनप्रतिनिधी भएपछि कार्यभार अरु साथीलाई सुम्पेको छु ।
अनि राजनितिक यात्रा कसरी सुरु गर्नुभयो त ?
२०४८ सालदेखी नै राजनितिक क्षेत्रमा प्रवेश गरेको हुँ । जुन समयमा नेपाल विद्यार्थी संघको सभापति भएर काम गरे । २०५२ सालमा अध्ययनको सिलसिलामा मेची बहुमुखी क्याम्पसमा स्ववियु सदस्य भएर ३ बर्ष काम गरे । तरुण दलमा समेत लामो समयसम्म काम गरे । स्थानिय तहको निर्वाचन अघि नेपाली कांग्रेसको कोल्वुङ गाँउ कमिटी सदस्य पनि थिए ।
स्थानिय तहको रोङ गाँउपालिका–३ को वडाध्यक्ष भएर चुनावी प्रचारमा लाग्नुभयो जनताको आकांक्षाहरु कस्ता पाउनुभयो ?
निर्वाचनको सिलसिलामा गाँउ टोल पुग्दा विकासको काम एकदमै ओझेलमा परेको रहेछ । त्यहाँ बाटो खानेपानी, स्वास्थ्य शिक्षा, कृषिको समस्या पायौ । हामीले जुन गाँउमा भोट भाग्न पुग्दा एउटा प्रधानमन्त्री एवम सासंदलाई राख्नुपर्ने माग आम जनता मतदाताले हामीलाई राख्नुभयो । नराखुन पनि कसरी किनकी उनीहरुलाई धेरै समस्या थियो ।
आफै वडाध्यक्ष हुनुहुन्छ ति समस्या समाधानमा कस्ता कदम चाल्नुहुन्छ ?
जनताको समस्या सम्वोधन गर्नुका लागी कहा के समस्या छ त्यसको डाटा बनाएका समाधान गर्दै जाने हो । गाँउपालिका वार्डमा आएको बजेट अनुसार तत्काल समाधान गर्नुपर्ने सडक, विद्युत, खानेपानी कुन हो त्यसलाई प्राथमिक्तामा राखेको छौ । प्राथमिक्ताको आधारमा समाधान गर्दै जाने हो । एकै तालमा समाधान हुँदैन क्रमश ५ बर्षमा समाधान गर्दै जाने हो ।
अहिले ३ नं वडामा कति बजेट छ र प्राथमिक्ता के केमा परेको छ ?
अहिले गाँउपालिकाबाट वार्डको लागी भनेर बिनियोजन भएको २३ लाख ५० हजार हो । २३ लाख ५० हजारको योजना बनाएर खर्च गर्ने वार्डले हो । गाँउपालिका स्तरिय भनेर २ वटा योजना परेको छ । पहिलो प्राथमिक्ता बाटो, विद्युत र खानेपानीलाई तेश्रो नम्बरमा राखिएको छ ।
योजना छनौट भइसकेको होला अब कसरी काम अघि बढ्छ ?
योजना छनौट भइसकेको छ । प्रतिनिधी र प्रदेश सभाको निर्वाचन सम्पन्न भइसकेको छ । अब भने छनौट गरिएका योजनाहरुको काम धमाधम अघि बढछ ।
तपाइको वार्डलाई ५ बर्षभित्रमा कस्तो बनाउने सोच्नुभएको छ ?
५ बर्षभित्रमा यस वार्डलाई सुविधा सम्पन्न बनाउने सोच छ । जुन ठाँउमा गाडी पुग्दैन, विद्युत धेरै क्षेत्रमा पुगेको छैन खानेपानीको समस्या छ । स्वास्थ्य, शिक्षाको समस्या छन कृषि प्राविधिक तालिमको खाचो छ । ति समस्याहरु क्रमश समाधान गरेर ५ बर्षभित्रमा केही चाही सहज बनाउने अठोट छ ।
तपाइको वडा धार्मिक पर्यटकिय क्षेत्र पनि हो । साचे अनुरुपको विकास छैन राज्यबाट समेत पहल छैन । समितीमा बसेर काम गरिरहँदा यसलाई कस्तो बनाउने योजना छ ?
रोङ–३ कोल्वुङ कुटिडाँडा क्षेत्र विशेष गरेर धार्मिक पर्यटकिय महत्व बोकेको ठाँउ हो । यस क्षेत्रमा रहेका विभिन्न जातजाती धर्म संस्कृतीको संरक्षणको जरुरी छ । यस क्षेत्रलाई सवैभन्दा पहिला रोङको मात्र नभइ नेपालकै प्रशिद्ध धार्मिक क्षेत्र बनाउन पर्छ भन्ने सोच छ । त्यसका साथै खेलकुदको लागी पनि यो उर्भर भुमि हो । यहाँबाट राष्ट्रिय अन्तराष्ट्रिय स्तरका धेरै खेलाडीहरु उत्पादन भएका छन । त्यसकारण खेलकुदले पनि विशेष महत्व राख्छ । खेलकुद, धार्मिक, पर्यटकिय, सांस्कृतिक, भाषाभाषिको उत्थान गरेर समग्र रोङको मात्र नभइ देशकै पहिचान क्षेत्र बनाउनुपर्छ भन्ने हो ।
धार्मिक क्षेत्र भएपनि पार्किङको समस्या छ त्यसको व्यवस्थापनको लागी गाँउपालिकाको योजना के छ ?
अव यस क्षेत्रमा आउने दर्शनार्थी पर्यटकहरुको लागी पार्किङस्थलको व्यवस्था थिएन तर गाँउपालिकाले पाथिभरा आउने पर्यटकहरुको सवारी पार्किङको व्यवस्थापनको लागी १० लाख रुपैया विनियोजन गरेको छ । १० लाख रुपैयाबाट स्तरिय पार्किङस्थल बनाउने योजना छ । अर्को कुरा १३ लाख रुपैया खानेपानीको लागी विनियोजन गरेको छ जसले यहाँको खानेपानी राम्रो व्यवस्थापन हुनेछ । पाथिभरा आउने भक्तजन, पर्यटक, स्थानिय र विद्यालयमा समेत योजनाले सहज हुने अपेक्षा छ ।
यो वडामा सुकुम्वासी क्षेत्रको पनि समस्या छ । सुकुम्वासी समस्या समाधानका कस्ता योजनाहरु छन ?
यो वडाको विशेष गरेर कुटिडाँडामा सवै सुकुम्वासीको बसोवास भइरहेको छ । र यो जग्गालाई सुकुम्वासी व्यवस्थापन गर्न राज्यसंग गाँउपालिका मार्फतबाट जहिले पनि वडाध्यक्षको हैसियतले पहल गर्नेछु । कसरी व्यवस्थित गर्न सहज पार्न सकिन्छ सम्वन्धित क्षेत्रमा कुरा पुर्याउनेछु ।
अन्त्यमा यस वार्डमा तपाइलाई बिजयी गराउने मतदाताले पाँच वर्षामा कस्तो विकास पाउँछन त ?
अव यो क्षेत्रमा ५ बर्षभित्रमा थोरै भएपनि परिर्वतनको महसुस गर्नुहुनेछ । जुन अगाडी राज्यबाट समेत ओझेलमा परेको ठाँउमा योजनाहरु पारेर त्यस्ता ठाँउमा सडक, विद्युत, खानेपानीको विकास गरेर जनताले प्रत्यक्ष परिर्वतनको महसुस हुने बनाउँछौ । अव जनताले सहज रुपमा सुविधा उपभोग गर्न पाउनेछन । त्यो परिर्वतन ५ बर्षभित्र मेरै कार्यकालमा हुनेछ ।