माई : प्रथम माई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । शनिश्चरे एफसीको जितसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । अन्तिम क्वाटरफाइनल खेलमा शनिश्चरेले नवज्योती एफसी जयपुरलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको छ ।
शनिश्चरेको जितमा पेमा तामाङले २ गोल र प्रमोद चौधरीले १ गोल गरे । जयपुरका बिशाल दर्जीले २ गोल फर्काए । खेलको म्यान अफ दि म्याच पेमा घोषित भए । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा आज खुदुनाबारी एफसीले युनाइटेड थ्रीस्टार इलामको सामना गर्दैछ ।

सितली फुटबल क्लब र चियाबारी युथ क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्ड र उत्कृष्ट मिडफिल्डरलाई समेत नगद र ट्रफि प्रदान गरिनेछ ।