Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयका कक्षा ५ सम्म अध्ययनरत सामुदायिक विद्यालयका सबै विद्यार्थीको बैंक खाता

सूर्योदयका कक्षा ५ सम्म अध्ययनरत सामुदायिक विद्यालयका सबै विद्यार्थीको बैंक खाता

  • नमीन ढकाल
  • शुक्रबार, कार्तिक २५ २०७९


सूर्योदयका कक्षा ५ सम्म अध्ययनरत सामुदायिक विद्यालयका सबै विद्यार्थीको बैंक खाता

इलाम । इलामको सूर्योदय नगरपालिकाले सामुदायिक विद्यालयका आधारभुत तहमा अध्ययनरत बालबालिकाहरुको बैंक खाता संचालन अभियान सुरु गरेको छ । नगरले ‘वाल वचत –२१०५ जना नानीहरूको निम्ति– सबैका लागि उच्च शिक्षा’ अन्र्तगत कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि अभियान सुरु गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सुरु भएको कार्यक्रम एक समारोहका विच पुण्य स्मारिका आधारभुत विद्यालय तीनघरेबाट सुभारम्भ गरिएको हो । नगरको अभिलेखमा दर्ता भएका ६६ वटा सामुदायिक विद्यालयका २ हजार १ सय ५ जना विद्यार्थीहरुको पहिलो चरणमा खाता संचालन हुनेछ । बैकका कर्मचारीहरुले विद्यालयमा गएर नै खाता खोलिदिनेछन् ।

अभिभावकहरुको रोहबरमा खाता खोलिसकेपछि राष्ट्रिय वाणिज्य बैंकले सबैको खातामा १ सय रुपैया थप गरिने बैंकको फिक्कल शाखाका प्रबन्धक खगेन्द्र कन्दङवाले बताए । बैंकले बार्षिक रुपमा ब्याज गणना गरेर ९.१३ प्रतिशतले प्रदान गरिने उनले बताए । सामाजिक उत्तरदायित्व अन्र्तगत अति विपन्न परिवारका बालबालिकाहरुलाई छात्रवृतिको कार्यक्रम समेत संचालन गर्ने कन्दङवाले बताए ।

बालबालिकाहरुलाई बचत गराउने बानीका साथै आगामी भविष्य सुरक्षित गराउने नगरले बाल बचत कार्यविधि नै बनाएर अघि बढाएको नगर प्रमुख रणबहादुर राईले बताए । राईका अनुसार नगरपालिकाले बनाएको कार्यविधि अनुसार नगरले निश्चित विन्दूसम्म थप प्रतिशत रकम उपलव्ध गराउने छ ।

नगरपालिका भित्र भएको सबै १–५ का विद्यार्थीहरूको २ हजार १०५ जनाको वाल वचत खाता मंसिर महिनासम्म सम्म खोलिसकिने छ । कक्षा ८ सम्मका बालबालिकाहरुको खाता संचालन गराउने लक्ष्य रहेपनि चालु आर्थिक बर्षमा कक्षा ५ सम्मको संचालन हुने राईले बताए ।

अभियान संचालनपछि विद्यार्थीहरु ड्रप आउट हुने दर कम हुने, वचत गर्ने वानीको विकास हुने, जंक फुडको प्रयोगमा कमी आउने, बैंकिङ कारोवारले गर्दा वित्तीय व्यवस्थामा साक्षरताका साथै थोरै थोरै गरेर धेरै जम्मा गर्न सकिने, विद्यार्थीहरू वचतको निम्ति उत्साहित हुने अपेक्षा राखिएको छ ।

बचत गर्ने बानीको विकासले नगरको दिगो सोचलाई टेवा मिल्ने कार्यक्रम पनि हुनेछ अपेक्षा राखिएको राईले बताए । पुण्य स्मारिकले यसअघि नै विद्यार्थीहरुको खाता संचालन अभियान सुरु गरिसकेको थियो । विद्यालयले २०७१ बाट अभियान सुरु गरेको प्रधानाध्यापक डिल्लीराम पौडेलले जानकारी दिए ।

विद्यालयको अभियानलाई सार्थकता दिँदै नगरका सबै सामुदायिक विद्यालयमा कार्यक्रम लग्नु सकारात्मक रहेको उनले बताए । प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सूर्योदय नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्मा, राष्ट्रिय वाणिज्य बैंक फिक्कलका प्रबन्धन खगेन्द्र कन्दङवा, पुण्य स्मारिका आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश कुमार राई, प्रधानाध्यापकको तर्फबाट कृष्णाश्रम माविका कपिलमुनी गडतौलाले शुभकामना मन्तव्य राखेका थिए ।

पुण्य स्मारिका आविका प्रधानाध्यापक डिल्लीराम पौडेलले स्वागत गरेको कार्यक्रम सूर्योदय नगरपालिका शिक्षा अधिकृत योगनिधि भट्टराईले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार