फिक्कल : सूर्योदय नगर उद्योग बाणिज्य संघले नगर क्षेत्रका ११ वटा बैकका शाखामा ज्ञापन पत्र बुझाउदै पछिल्लो समय देखिएको चर्को व्याज घटाउन माग गरेको छ । उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यक्रम अनुसार बुधवार नगरका फिक्कल र पशुपतिनगरका १० वटा बैकका ११ शाखामा पुगेर १९ बुदे ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष प्रमोद राईले जानकारी दिए ।
अध्यक्ष राईको नेतृत्वमा प्रथम उपाध्यक्ष प्रज्वल प्रधान, द्धितिय उपाध्यक्ष पुजन श्रेष्ठ, सदस्य राजु बराल,संघको महिला उद्यमी समिति संयोजक हेममाया प्रधान ९रामु० सहितको प्रतिनिधि मण्डलले बैंकका शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै कर्जा प्रवाहमा सहजता ल्याउन समेत आग्रह गरेको थियो ।
संघले राष्ट्रिय वाणिज्य बैंकको पशुपतिनगर र फिक्कल शाखा, कृषि विकास बैंक, एक्सल डेबलभमेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, नविल बैंक, सिद्धार्थ बैंक, सांग्रीला बैंक, सिभिल बैंकको फिक्कल शाखामा ज्ञापन पत्र बुझाएको जनाएको छ ।
कोभिड १९ को महामारीको खोपको उपलब्धताले औद्योगिक क्षेत्र सामान्यिकरण तर्फ उन्मुख हुदै गर्दा रुस र युक्रेनको युद्धले आपुर्ति श्रृङखलामा ल्याएको अवरोधले पेट्रोलियम पदार्थको मुल्यवृद्धि, वित्तीय क्षेत्रमा तरलताको चाप, कर्जा प्रवाह नहुनु र वित्तीय क्षेत्रले गरेको ब्याजदर बृद्धिले उद्योग ब्यवसाय संचालन कठिन बन्न पुगेको र आश्रित मजदुरहरुको जीवन ज्ञापन पनि संकटमा पुगेको संघको ज्ञापन पत्रमा उल्लेख छ ।
संघले नेपाल राष्ट्र बैंकले २०७९ कार्तिक १ गते देखि लागु हुने गरी जारी गरेको चालु पूँजी कर्जा मार्ग निर्देशन हाल समय परिस्थिति सुहाँउदो नभएकोले यो व्यवस्था स्थगन गरिनु पर्ने माग गरेको छ ।
उद्योग वाणिज्य महासंघले वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि निरन्तर आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न १ का अध्यक्ष टिकाराज ढकालका अनुसार पहिलो चरणको कार्यक्रम कार्तिक २८ गते सम्मको रहेको छ ।