कन्याम । इलामको कन्याममा स्काई वाक टावर (मान्छे हिँड्ने सिसाको टावर) निर्माण गरिएको छ । पर्यटकहरुलाई आर्कषित गर्न कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको ५ करोड रुपैयाँ संयुक्त लगानीमा टावर निर्माण गरिएको हो । मेची राजमार्गको कन्याम चियाबगान नजिकै निर्माण गरिएको संरचनाको सूर्योदय नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, अभिनेत्री बर्षा राउत र गायिक एलिना चौहानले संयुक्त रुपमा उद्धघाटन गरे ।
नगर प्रमुख राईले सूर्योदय प्रदेश १ कै एक मात्र पर्यटकीय नगरी भएकाले नीजि क्षेत्रबाट पर्यटनमा लगानी हुनु सकारात्मक भएको बताए । उनले नगरले समेत पर्यटकीय गन्तव्यहरु विकासका लागि करोडौ लगानी गरिरहेको बताए । उनले संघीयतापछि स्थानीय सरकारको प्रयासमा पर्यटकहरुलाई आर्कषित गर्न विभिन्न गन्तव्यहरुलाई ब्युटिफिकेसनको कार्य समेत गर्दै आएको जनाए ।

कन्याम क्लाउडकी रीता भुसालले कन्याम आएका पर्यटकलाई सिसाको टावरमा चढेर तल चियाबारीको दृश्य देखाउन स्काई वाक निर्माण गरिएको बताइन् । ‘यो स्काई वार्कबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ,’ उनले भनिन्, ‘यो बिल्कुल नयाँ संरचना भएकाले बढीभन्दा बढी पर्यटक आकर्षित हुने सम्भावना छ।’ स्काई वाकको मज्जा लिन अहिले पर्यटकले प्रतिव्यक्ति ३ सय रुपैयाँ तिर्नुपर्ने छ ।
अन्य संरचना समेत निर्माण भएपछि टिकटदर ५ सय रुपैयाँ पुग्ने उनले जनाइन् । ‘कन्याम आउने प्रत्येक पर्यटकले यसको नौलो आनन्द लिन पाउनेछन्,’ उनले भनिन्, ‘नेपालमात्र नभइ भारतको दार्जिलिङ र पश्चिमबंगालबाट आएका पर्यटकसमेत यसप्रति आकर्षित हुनेछन् । टावरमा सिँढी बनाइएको छ । सिँढीको सिरानमा ४ मिटर चौडाई र ७ मिटर लम्बाईको सिसा राखिएको छ ।

सिसामा चढेर दृश्यावलोकन गरी पर्यटकले आनन्द लिन सक्छन्। उनका अनुसार स्काई वाकसँगै २ वटा स्विइङ, बालउद्यान र रेस्टुरेन्टसमेत निर्माण गरिँदैछ। तर, ती संरचना निर्माण गर्न केही महिना लाग्ने छ । भिडियो खिच्ने, ड्रोनबाट फोटो, भिडियो खिच्ने, साँस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ । टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि ८ जनासम्म चढाइनेछ ।

स्काइ वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्वीच कभर, चढेका व्यक्तिहरुको संख्या रेकर्ड राखिने र सुरक्षा गार्डहरु पनि हुनेछन् । ‘कन्यामले अब पर्यटकका लागि नयाँ गन्तव्य र आकर्षण पाएको छ,’ भुसालले भनिन्, ‘बाँकी संरचनासमेत निर्माण भएपछि धेरै संख्याका पर्यटक यहाँ भुल्लिनेछन् ।’

भुसालले पर्यटकीय भेडेटार र काठमाडौंको कमलादीमा समेत स्काई वाक टावर निर्माण भइरहेको जानकारी दिइन् । सगरमाथा बेसक्याम्पमा ११ अर्ब रुपैयाँ लगानीमा केबलकार सञ्चालन गर्ने जानकारी पनि उद्घाटन अवसरमा दिइएको छ ।