सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका ५ मा जारी कागे गोेल्डकपमा ढापपोखरी एफसी र सन्दकपुर—१ ले बिजयी सुरुवात गरेको छ । ढापपोखरीले बिएफसी गोदक र सन्दकपुरले ग्रिनभिजेल युथ क्लब साखेजुङलाई हराएको हो ।
प्रतियोगिताको उद्धघाटन खेलमा गोदक लाई टाइब्रेकरमा ३—२ गोल अन्तरले हराउँदै ढापपोखरीले क्वाटरफाइलनमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १—१ गोल गरेका थिए । खेलको सुरुवाती अग्रता ढापपोखरीले लिएको थियो ।
खेल सुरु भएको १ मिनेट नवित्दै नर्बु तामाङले अग्रता दिलाए । दोश्रो हाफको १३ औ मिनेटमा सुगम लिम्बुले खेल बराबरीमा ल्याए । दोश्रो प्रि—क्वाटरफाइनलमा साखेजुङलाई २—० गोल अन्तरले हराउँदै सन्दकपुर—१ ले समेत क्वाटरफाइलन प्रवेश गरेको छ ।
खेलको ५ औ मिनेटमा सन्तोष मगरले सुरुवाती अग्रता दिलाए । १७ औ मिनेटमा प्रविन राईले अग्रता दोब्बर बनाए । वडाध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष तुला बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, दर्पण गुरुङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा इन्द्र गुरुङले स्वागत र आदर्श गुरुङले संचालन गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
आगामी कार्तिक ६ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपाल र भारतका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।