फिक्कल । इलामको सूर्योदय नगरपालिका वडा नं १ मा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमाहरुका लागि पोषण सम्बन्धी शिक्षा प्रदान गरिएको हो । मंगलबार र बुधबार दुईदिन संचालित उक्त कार्यक्रम वडाको मंगलबारे र गोर्खे स्वास्थ्य चौकीमा आयोजना गरिएको थियो ।
कार्यक्रममा करिब ६० बराबर आमाहरु सहभागि थिए । गर्भवती भए देखि गणना गरि बच्चा २४ महिनाको पुगेका आमाहरुलाई सहभागिता गराई खानपिनमा पोषणका सम्बन्धमा जानकारी गराइएको कर्मचारी प्रकृति खतिवडाले जानकारी दिइन् । विशेषगरि गर्भवती हुँदा र बालबच्चाले आमाको दुध खाने उमेरमा उनिहरुको स्वास्थ्य अवस्था आमाको खानपिनमा निर्भर हुने गर्छ ।

यो समयमा आमाले जति पोषिलो खान्छिन् बच्चा उति नै तन्दुरुस्त र स्वास्थ्य बन्ने गर्छ । तर ग्रामिण भेगका अधिकांश आमाहरु शारिरिक रुपमा परिश्रम हुने काम गरेपनि खानामा बेवास्था गर्नाले आमा र बच्चा दुबैलाई असर गर्ने गर्छ । कतिपयलाई यति सामान्य ज्ञान समेत हुँदैन भने कति चैँ पारिवारिक सामाजिक र आर्थिक अवस्थाका कारण समेत अन्जान जस्तै बनेका हुन्छन् ।
उनिहरुलाई गर्भवति बेलामा स्वास्थ्यमा ख्याल नगर्दा र पोषणयुक्त खाना नखादा कस्तो असर गर्छ भन्ने बिषय बुझाउन यो कार्यक्रम गरिएको कर्मचारी खतिवडाले जानकारी दिइन् । गोर्खे स्वास्थ्य चौकीकी सिनियर अनमी कल्पना राई र अहेब पुष्पा तामाङले कार्यक्रमको सहजिकरण गरेका थिए ।
उनीहरुले सहभागिलाई पोषणयुक्त खानाको आवश्यकता र महत्वका सम्बन्धमा सहजिकरण गरेका हुन् । नगरपालिकाले अधिकांश वडामा यस खालका कार्यक्रम गर्दै आएको छ ।